Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाको कमब्याक फिल्मको टुंगो लाग्यो

फिल्मीखबर, काठमाडौं, 2022/08/01
 
विवाह अगाडि अभिनेत्री प्रियंका कार्कीको फिल्ममा राम्रै व्यस्तता थियो । फिल्महरु लगातार असफल भइरहे पनि उनलाई कामको कमी थिएन । आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धपछि उनले प्रेमीसँग पनि केही फिल्ममा काम गरिन् । २०७६ सालमा उनले आयुष्मानसँग लगनगाँठो कसिन् । त्यसको केही महिनामा नै कोरोनाका कारण देश लकडाउन भयो र उनी घरभित्रै सीमित भइन् ।
 
संक्रमण मत्थर भएर लकडाउन अन्त्य हुने संकेत नदेखेपछि आमा बन्ने निर्णय गरेकी उनले गत वर्ष छोरीलाई जन्म दिइन् । आमा बनेपछि निकै मोटाएकी उनी यतिबेला आफ्नो शरीरलाई पुरानै स्वरुपमा फर्काउन मिहिनेत गरिरहेकी छन् । यो बीचमा उनले २३ केजी तौल घटाइसकेकी छन् । विवाहपछि फिल्मविहीन अवस्थामा रहेकी उनले सुत्केरी तौल घटाएसँगै फिल्म पनि पाएकी छन् । 
 
‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्ममा उनले मुख्य भूमिकामा काम गर्ने निश्चित भएको जानकारी प्राप्त छ । ‘फूलबारी’ नाम राखेर छायांकनमा जान लागेको फिल्ममा प्रियंकाको जोडी अभिनेता दयाहाङ राई हुनेछन् । यसअघि यो जोडीले केही फिल्ममा अभिनय गरिसकेको छ । फिल्ममा प्रियंकाको भूमिका कस्तो रहनेछ, त्यसबारेमा निर्माण टिमले जानकारी दिएको छैन । 
 
गत बैशाखमा प्रियंका अभिनीत फिल्म ‘लक्का जवान’ प्रदर्शन भएको थियो । यसमा उनले विवाह गर्नुभन्दा अगाडि नै काम गरेकी थिइन् । आमा बनेपछि उनले फिल्म ‘राधा’को तीज गीतमा नृत्य गरिन् । ‘फूलबारी’ भने उनको वास्तविक कमब्याक फिल्म हुनेछ । फिल्ममा विपिन कार्कीले दयाहाङको पिताको भूमिका निर्वाह गर्दैछन् । यसकारण यो फिल्म हेर्न दर्शकलाई रोचक हुने देखिन्छ ।