
बलिउड अभिनेता हर्षवर्धन राणे यतिबेला काठमाडौंमा छन् । उनी तीन दिनदेखि काठमाडौं रहेको उनका इन्स्टाग्राम पोस्टहरुले बताउँछ । शनिवार उनी पाँचतारे होटल र्याडिसनमा आयोजित एक रिसेप्सन पार्टीमा सहभागी भएका थिए । पार्टीमा सहभागी भएको तस्विर उनले इन्स्टामा पनि राखेका छन् । त्यहाँ उनले नेपालीहरुसँग ‘साइँली रे साइँली रे’ गीतमा नृत्य समेत गरेका थिए ।
नवविवाहित जोडीसँग तस्विर खिच्दा होस् वा गीतमा नृत्य गर्दा, हर्षवर्धनको कम्मरमा क्यामेरा झुन्डिरहेको देखिन्छ । यसले उनको फोटोग्राफीप्रतिको रुचि झल्काउँछ । आइतवार उनले बसन्तपुर क्षेत्रको घुमघाम गरेको तस्विर तथा भिडियोहरु पनि इन्स्टाग्राममा शेयर गरेका छन्, जहाँ उनले पर्यटनहरुसँग नाचेको, नेवारी परिकारको स्वाद लिएको, नेपाली फ्यानहरुसँग भेट गरेको देखिन्छ ।
हर्षवर्धनले शेयर गरेको भिडियोमा केही नेपाली युवतीहरु उनलाई देखेर खुशीले रमाइरहेका छन् भने त्यही भिडमा तीन युवतीहरु भावुक देखिएका छन् । यसले नेपालका युवतीहरुमाझ उनी कति लोकप्रिय छन् भन्ने प्रमाणित गर्छ । सन् २०१६ मा आएको फिल्म ‘सनम तेरी कसम’बाट उनले यो क्रेज बनाएका हुन् । फिल्ममा उनको अभिनय र लुक्सले युवतीहरुलाई दिवाना बनाएको थियो ।
तेलुगू फिल्म हुँदै हर्षवर्धनले ‘सनम तेरी कसम’बाटै बलिउडमा डेब्यू गरेका थिए । उनले ‘तैश’, ‘हसीन दिलरुबा, ‘पल्टन’ जस्ता बलिउड फिल्ममा पनि काम गरिसकेका छन् । तेलुगू फिल्म भने उनको एक दर्जन बढी छ । सन् २०१५, २०१६ र २०१७ मा उनी द टाइम्स अफ इन्डियाको सबैभन्दा वान्छनीय पुरुष घोषित भएका थिए । उनले केही सर्ट फिल्ममा समेत अभिनय गरेका छन् ।

