शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘बद्री बहादुर’ यही जुलाई ३० तारिखमा (शनिवार) अष्ट्रेलियाको सिड्नीमा प्रिमियर भएको छ । प्रिमियरमा उल्लेख्य संख्यामा फिल्म हेर्ने दर्शकको उपस्थिति रहेको बताइएको छ । अष्ट्रेलिया प्रिमियरमा फिल्मलाई सुखद् प्रतिक्रिया मिलेको भन्दै निर्देशक बस्नेतले खुशी व्यक्त गरेका छन् । फिल्मको अझै अष्ट्रेलियाको ६ शहरमा प्रदर्शन हुनेछ ।
.jpg)
फिल्मको प्रिमियरका लागि शोभित केही समयअघि अष्ट्रेलिया उडेका थिए । सिड्नी प्रिमियरको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । अष्ट्रेलिया प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेकाले फिल्मलाई चाँडै नेपालमा पनि प्रदर्शन गरिने शोभितले बताए । फिल्ममा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईलगायतको मुख्य भूमिका छ ।
चितवनका सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मलाई एबि पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्ले निर्माण गरेको छ । फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । फिल्मको एक गीतमा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेतले नृत्य गरेका छन् । ‘बद्री बहादुर’बाट एलिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छिन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन छ । ‘बद्री बहादुर’मा बिनोद सापकोटाको छायांकन र समिर मियाँको सम्पादन छ । कमेडी जनरामा निर्मित फिल्मको छायांकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको हो । कोभिडअघि फिल्म छायांकन भएको थियो ।

