Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुष्पलाई ‘मंगलम’को साख ‘कृष्ण लीला’बाट जोगाउनु पर्ने चुनौती

फिल्मीखबर, काठमाडौं, 2022/07/31
यतिबेला नेपाली फिल्ममा चकलेटी हिरोहरुको बोलबाला छ । तर, जति पनि चकलेटी आवरणका हिरोहरुले फिल्म क्षेत्रमा रजाई गरिरहेका छन्, उनीहरु सुकिलो र चम्किलो अनुहारकै बलमा दर्शकमाझ चिनिएका हुन् भन्दा फरक पर्दैन । अभिनयमा पनि राम्रो मानिने चकलेटी हिरोहरु भने औंलामा गन्न सकिने संख्यामा मात्र छन् । त्यसमध्येमा सम्भवतः छुट्नै नसक्ने नाम हो, पुष्प खड्का ।
 
म्यूजिक भिडियोबाट उदाएर फिल्म ‘अझै पनि’बाट फिल्मी यात्रा सुरु गरेका उनले ‘दर्पण छायाँ २’बाट लिड नायकको रुपमा बाटो कोरे । तर, उनलाई कलाकारको रुपमा स्थापित भने फिल्म ‘मंगलम’ले गर्‍यो । यो फिल्म उनले आफ्नो करिअरमा पाएको वरदान हो । ‘मंगलम’बाट उनले अभिनयमा आफूलाई अब्बल प्रमाणित मात्र गरेनन्, लामो रेसको घोडा बन्न सक्ने सम्भावना पनि देखाए । 
 
फिल्ममा उनले न्युरोलोजिकल डिसअर्डर भएको चरित्रमा अभिनय गरेका थिए । उनको अभिनयले राष्ट्रिय अवार्ड नै जित्न सफल भयो । एउटा कलाकारलाई अभिनयको आधारमा राष्ट्रिय अवार्ड मिल्नु सानोतिनो उपलिब्ध होइन । जो कोहीको भाग्यमा यो हुँदैन । यसअर्थ पुष्प अत्यन्त भाग्यमानी कलाकार हुन् । राष्ट्रिय अवार्ड जितेपछि कलाकारमा थपिने जिम्मेवारी र चुनौती पनि ठूलो हुन्छ । 
 
puspa khadka
 
तर, के पुष्प खड्काले ‘मंगलम’पछि अभिनयमा अब्बलता देखाउन सकेका छन् ? पात्र छनोट र चरित्र निर्माणमा गम्भीर देखिएका छन् ? ‘मंगलम’बाट कमाएको साख जोगाउन सफल छन् ? यसको जवाफ एउटै हुन्छ, ‘छैन’ । ‘मंगलम’पछि आएका दुई फिल्म ‘दाल भात तरकारी’ र ‘मारुनी’मा उनको न चरित्र बलियो थियो न अभिनयमा परिपक्वता । फलतः आलोचनाको शिकार हुनुपर्‍यो । 
 
आलोचनाले मान्छेलाई सच्चिन मद्दत गर्छ । सच्चिनका लागि प्रयास नगरे यात्रा उपलब्धिमुलक बन्न सक्दैन । यो कुरा पुष्पले बुझेरै हुनुपर्छ, आगामी भदौ ३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कृष्ण लीला’मा उनले बाँचेको चरित्र र ट्रेलरमा अभिनय हेर्दा उनी सच्चिएको भान हुन्छ । यद्यपि, ट्रेलरकै भरमा उनको अभिनयको मुल्यांकन गर्न हतार हुनसक्छ । तर, संकेत भने राम्रो देखिन्छ । 
 
‘कृष्ण लीला’मा पुष्प ‘मंगलम’मा झैं कठीन र चुनौतीपूर्ण भूमिकामा छन् । उमेरले परिपक्व भए पनि शारीरिक र मानसिक रुपमा कमजोर रहेको अटिजम चरित्रमा उनले अभिनय गरेका छन् । यो चरित्रमा उनलाई औसत अभिनय गरेर छुट मिल्ने छैन । मनदेखि चरित्र निर्माणमा गरेको मेहेनत अभिनयको माध्यमबाट देखिनुपर्नेछ । जुन उनका लागि फलामको चिउरा चपाएभन्दा कम होइन ।
 
एकातिर उनलाई ‘मंगलम’बाट कमाएको साख जोगाउनु पर्ने ठूलो चुनौती छ भने अर्कोतिर आफ्नै काँधमा बोकेर फिल्म चलाउनु पर्ने दबाबको भारी पनि छ । यो अग्नीपरीक्षामा पुष्प कति सफल होलान्, त्यसका लागि भदौ ३ सम्म प्रतिक्षा गर्नैपर्ने हुन्छ । ‘कृष्ण लीला’बाट अभिनयसँगै स्टारडमको पनि शक्ति देखाउन सके पुष्प खड्काले आफ्नो करिअरमा मार्ने फड्को सानदारको हुनेछ ।