साउन २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘म’को फरक शैलीमा आक्रामक रुपमा प्रचार भइरहेको छ । आम-मानिसहरुको फिल्मप्रति ध्यान खिच्न काठमाडौंका सडकमा बाइक र्यालीदेखि अनुहारमा कलात्मक पेन्ट गरेर ‘म’ अंकित टिसर्टमा सडकमा हिँड्नेसम्मको प्रचार अभियान गरिसकेको निर्माण टिमले शनिवार बसन्तपुरमा फरक शैलीमा फिल्मको प्रचार गर्यो ।

‘म’को थिममा तयार पारिएको मनोलग प्रस्तुत गरिएको थियो । कलाकार संजोग रसाइलीले यसबारेमा भने- ‘दर्शकसँग अन्तरक्रिया गर्ने उद्देश्यले फिल्मको थिममा तयार पारेको मनोलग प्रस्तुत गरेका हौं । यो मनोलगमा कलाकारहरुले फरक-फरक पीडित पात्रको चरित्र निर्वाह गर्नुभएको थियो । यो प्रस्तुतीले आम-मानिसमा फिल्मप्रति चासो र उत्सुकता बढाएको हामीले पाएका छौं ।’
.jpg)
यसअघि फिल्मको प्रचारलाई आक्रामक बनाउन निर्माण टिमले काठमाडौंमा म्याराथुन गर्ने, शहरमा रहेका डिजिटल डिस्प्लेमार्फत् ट्रेलर बजाउने, चोक-चोकमा एक्टिङ्ग पर्फमेन्स गर्ने क्रियाकलापहरु गरिसकेको छ । यसप्रकारको प्रचार अभियानले फिल्मप्रति दर्शकमा चासो बढाएको प्रस्तुतकर्ता प्रकाश पुरीले बताए । प्रचार शैली झैं फिल्म पनि दर्शकलाई फरक लाग्ने उनको भनाई छ ।

सुवर्ण थापाको निर्देशनमा तयार भएको फिल्ममा संजोगसँगै सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ लगायतको अभिनय छ । तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्मको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् । फिल्मको पटकथा तथा संवाद प्रस्तुतकर्ता प्रकाश पुरी स्वयंको हो ।

