‘महानायक’ विवाद उत्कर्षमा रहँदा फिल्म क्षेत्र सधैं तीन कित्तामा बाँडिन्छ । एकथरी यो उपाधिको निर्विकल्प हकदार अभिनेता राजेश हमाललाई मान्छन् । अर्कोथरी सर्वाधिक सुपरहिट फिल्म दिएकाले वास्तविक ‘महानायक’ भुवन केसीलाई भन्छन् । अर्को एउटा वर्ग भने न हमाल न केसी, दुवैलाई यो उपाधिको हकदार मान्दैन । दर्शकको जमात भने हमाललाई ‘महानायक’ मान्ने गर्छ ।

केही वर्षअघि ‘महानायक’ विवाद चर्किँदा राजेश हमाल र भुवन केसीलाई महानायकको उपाधि दिन दर्शकसँगै कलाकारहरुबीच नै हानाथाप चलेको थियो । यो भीडमा अभिनेता दीलिप रायमाझी पनि थिए । उनले एक यूट्युब च्यानलमा अन्तर्वार्ता दिँदै खुलेरै भुवन केसीप्रति आफ्नो समर्थन जनाए । सर्वाधिक हिट फिल्म दिएकाले महानायक भुवन केसी रहेको दीलिपको स्पष्ट तर्क थियो ।
उनले भनेका थिए, ‘महानायकको उपाधि दिनुअघि बुझ्नु पर्थ्यो कि कसलाई दिनपर्थ्यो महानायक भन्ने कुरा । मेरो व्यक्तिगत धारणा चाहिँ सबैभन्दा सफल फिल्म दिने भुवन केसी हुनुहुन्छ । उहाँले जस्तो सुपरहिट फिल्म कसैले दिन सकेको छैन । त्यसले गर्दा मेरो विचारमा भुवन दाई महानायक हो ।’ उनको यो बोली दर्शकलाई बिझायो । त्यसपछि के चाहियो र ! उनको खेदो खन्न सुरु भयो ।
यतिबेला ‘महानायक’ विवाद बहसमा छैन । दीलिपले पनि यो विषयमा आफ्नो विचार राख्न छाडिसकेका छन् । यसैक्रममा, उनले शनिवार राजेश हमालसँग भेट गरेका छन् । सिक्किममा हुन लागेको एक सांगीतिक कार्यक्रम र ‘मेरो डान्स कप’मा अतिथीको रुपमा निमन्त्रणा गर्न हमालसँग दीलिपले भेट गरेका हुन् । लामो समयपछि भएको भेटमा उनीहरुले पुराना दिनहरु पनि सम्झिए ।
एक समय राजेश हमाल र दीलिप रायमाझीले ‘माझी दाई’, ‘जिन्दगानी’, ‘दुःख, ‘आमाको आर्शिवाद’, ‘कर्तव्य’, ‘पाले दाई’ लगायत कयौं सफल फिल्ममा एकसाथ काम गरेका थिए । कुनै समय हमालभन्दा पनि दीलिप व्यस्त मानिन्थे । एक फिल्मको सुटिङमा हमालले उनलाई घन्टौं कुरेको अझै पनि चर्चा हुने गर्छ । हमालसँगको भेटमा दीलिपसँगै फिल्म निर्माता राजेश घतानी पनि थिए ।

