Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ४’ : राजाको इन्ट्री सिन नै टिकटकमा भाइरल

फिल्मीखबर, काठमाडौं, 2022/07/30
हरेक कुराको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ । पछिल्लो समय नेपालमा लोकप्रिय बनेको टिकटकमा पनि यी दुवै कुरा छ । कयैन् प्रतिभावान व्यक्तिलाई यही टिकटकले चिनायो । यसैले कतिको जीवन बर्बाद पनि गरेको छ । नेपाली फिल्मले पनि टिकटकबाट राम्रो र नराम्रो दुवै कुरा पाएको छ । तर, तुलनात्मक रुपमा टिकटकले नेपाली फिल्मलाई फाइदाभन्दा बेफाइदा बढी गरेको छ ।
 
गीतसंगीत टिकटकमा चलेर फिल्मको हाइप बढाउन धेरथोर सहयोग मिलेको कुरामा दुईमत छैन । तर, यही टिकटकमा हलभित्र र छायांकनको बेला फिल्मको सिन खिचेर हालिदिँदा निर्मातालाई ठूलो घाटा भएको दृष्टान्त पनि धेरै छ । एक हप्तादेखि छायांकन भइरहेको दीपकराज गिरी र दीपाश्री निरौला समुहको प्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ४’लाई पनि टिकटकले समस्यामा पारेको छ । 
 
deepakraj giri (1)
 
यतिबेला टिकटकमा फिल्म छायांकनको एउटा दृश्य भाइरल छ । भिडियोमा राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको देखिन्छ भने उसलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ । यो सिन फिल्ममा राजा पात्रको इन्ट्री हुँदाको हुनसक्ने आँकलन गर्न सकिन्छ । फिल्मको महत्त्वपूर्ण सिन टिकटकमा बाहिरिएपछि निर्माण टिम तनावमा देखिएको छ । 
 
यसअघि फिल्म ‘ए मेरो हजुर ४’को पनि छायांकनको सिनहरु टिकटकमा भाइरल भएको थियो । एउटा सिन खिच्न निर्माण टिमले लाखौं खर्च गरेको हुन्छ । तर, टिकटकको फलोअर्स बढाउने लोभमा फिल्मको सिन खिचेर हालिदिँदा निर्माताको पैसा र मिहिनेत दुवै पानीमा मिल्छ । ‘छक्का पञ्जा ४’ टिम अब टिकटकमा बाहिरिएको सिन फिल्ममा राख्ने वा अर्को सिन खिच्ने भन्नेमा दोधार छ ।
 
हेमराज विसीको निर्देशनमा तयार भइरहेको फिल्ममा दीपकराजसँगै बेनिशा हमाल, केदार घिमिरे, दीपाश्री निरौला, राज आचार्य, निर्मल शर्मा, नीर शाह, शिशिर बाङ्देल लगायतको अभिनय छ । फिल्मको एउटा महत्त्वपूर्ण सिन टिकटकमा भाइरल भएपछि निर्माताले अब सुटिङ स्थलमा टिमका सदस्यसँगै बाहिरी व्यक्तिको मोबाइल पनि बन्देज गर्ने नीति बनाएको जानकारी प्राप्त छ ।