आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको ‘प्रकाश’बाट अभिनेता प्रदीप खड्काले ठूलो आशा बोकेका छन् । पहिलो पटक भिन्न चरित्रमा अभिनय गरेका उनलाई यसपटक फरक शैलीको फिल्म रुचाउने दर्शकलाई पनि आकर्षित गर्नुपर्ने ठूलो चुनौती छ । त्यसैले उनले फिल्मको प्रचारलाई चुस्त बनाउन कुनै कसर छाडेका छैनन् । मेकरभन्दा उनी नै प्रचारमा दौडधुप गरिरहेका छन् ।
फिल्मको प्रचारको क्रममा बिहीवार पोखरा पुगेका उनले ‘प्रकाश’ले नेपाली समाजको यथार्थतालाई देखाउने दाबी गरे । ‘फिल्म समाजको यथार्थतामा आधारित कथा हो । जुम्लामा छायांकन गरिए पनि नेपाली समाजको यथार्थता, भोगाइलाई तथा समस्यालाई फिल्ममा देखाउन खोजिएको छ,’ उनले भने । अभिनेता खड्काले फिल्मले आफूलाई कलाकार बनाएकोमा पनि गर्व महशुस गरे ।
.jpg)
फिल्ममा प्रदीपको आमाको भूमिकामा अभिनय गरेकी अभिनेत्री दीया मास्केले कुनै पनि पुरुषको हरेक सफलतामा महिलाको हात हुने कुरालाई आफ्नो भूमिकामार्फत् देखाउन खोजेको धारणा राखिन् । एउटा युवकले गाउँको सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्ष फिल्मको मूल कथा भएता पनि आमा र छोराको भावनात्मक सम्बन्धको कथालाई पनि प्रस्तुत गरिएको दीयाको भनाई छ ।
निर्देशक दिनेश राउतले समाजको यथार्थपरक कथालाई व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई औँल्याउँदै ‘प्रकाश’ले नेपाली समाजको यथार्थतालाई जीवन्त रुपमा पस्किएको बताए । उनले आफ्नो अघिल्लो फिल्म ‘प्रसाद’भन्दा एक स्तरमाथि उठेर काम गरेको पनि दाबी गरे । त्यस्तै, लेखक विकास सुवेदीले जीवन सङ्घर्षको पहाड भएको विषयलाई फिल्ममा चित्रण गरिएको बताए ।
महेन्द्र अधिकारीले साढे २ करोडमा निर्माण गरेको यस फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, दिपेन्द्र शाहीलगायतको पनि अभिनय छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

