
कोरोना महामारीका कारण प्रभावित फिल्म ‘चपली हाइट ३’ तेस्रो पटक हलमा प्रदर्शन हुने भएको छ । यसअघि २०७८ सालको पुष ३० गते फिल्म पहिलो पटक प्रदर्शन भएको थियो । तर, माघ ३ गते सरकारले संक्रमण बढेको भन्दै हल बन्द गरेपछि फिल्मको प्रदर्शन तीन दिनमै रोकियो । हल खुलेपछि गत फागुन १ गतेबाट फिल्म पुनः प्रदर्शन भयो । तर, दर्शकको साथ पाउन सकेन ।
निर्माण कम्पनी अर्जुन कुमार फिल्मस्ले बिहीवार एक विज्ञप्ति जारी गर्दै ‘चपली हाइट ३’ यही साउन २० गतेबाट पुनः प्रदर्शन हुने जानकारी गराएको छ । यो मितिमा दुई फ्रेस नेपाली फिल्म ‘म’ र ‘आँधी तुफान २’ पनि प्रदर्शनमा आउने तयारीमा छन् । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्मले तेस्रो मौकामा दर्शकलाई आकर्षित गर्न कुन हदसम्म सफल होला, त्यो भने हेर्न बाँकी छ ।
निकेश खड्काको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा लगायतको अभिनय छ । फिल्मले समीक्षकबाट सुखद् समीक्षा पाएको थियो । फिल्मको सस्पेन्स पाटोलाई सशक्त मानिएको छ । निर्माता अर्जुन कुमार फिल्म राम्रो रहेकाले यसपटक दर्शकहरुको साथ पाउनेमा विश्वस्त छन् ।
.jpg)
फिल्ममा आकाश बरालको कथा तथा पटकथा, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशक, उत्तम न्यौपानेको साउन्ड डिजाइन, डिपी खनालको शब्द रचना, सुभाष भुषाल तथा अर्जुन कुमारको संगीत र पुरुषोत्तम प्रधानको छायांकन छ । ‘चपली हाइट ३’ हलमा तेस्रो पटक प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दैछ । तेस्रो पटकको प्रदर्शन व्यर्थ सावित नहोस्, शुभकामना ।

