२०७६ सालको एउटा घटना स्मरण गरौं । मनोज राठीको समुहले बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ मोटो रकम तिरेर नेपाल प्रदर्शन अधिकार किनेको थियो । इदलाई लक्षित गर्दै भारतमा बुधवारबाटै फिल्म प्रदर्शन हुँदै थियो । तर, नेपालमा स्वदेशी र विदेशी फिल्म शुक्रवार मात्र रिलिज गर्नुपर्ने प्रावधान भएकाले तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले ‘भारत’लाई बुधवारबाटै नेपालमा प्रदर्शन गर्न अनुमति दिएनन् ।
त्यसपछि मनोज राठीको समुहले जिल्ला अदालत काठमाडौंमा स्वतन्त्र व्यवसायमाथि बोर्डले हस्तक्षेप गरेको भन्दै रिट दायर गर्यो । अन्ततः अदालतले पनि बुधबार नै ‘भारत’ लाई नेपालमा रिलिज गर्न दिन अन्तरिम आदेश दियो । यसैबाट थाहा हुन्छ कि नेपालमा भारतीय फिल्मलाई कहाँ-कहाँबाट संरक्षण भइरहेको छ । ‘भारत’भन्दा अगाडि बुधवारलाई नै प्रदर्शन मिति तोकेको बलिउडको अर्को फिल्म ‘कलंक’ भने बोर्डले शुक्रवारअघि रिलिज गर्न दिएको थिएन ।
शुक्रवारभन्दा अगाडि विदेशी फिल्म रिलिज हुँदा शुक्रवार प्रदर्शन हुने नेपाली फिल्मलाई ठूलो मार पर्छ । तर, हिन्दी फिल्म किनेका वितरकलाई त्यसको के चिन्ता ? उनीहरुलाई त कमाउनु छ । राज्य संयन्त्रले पनि हिन्दी फिल्ममाथि अंकुश लगाउन सकेको छैन । जसले गर्दा भारतीय फिल्महरु नेपालमा बह्रमलुट मच्चाउन छाडेको साढे जस्तो भएका छन् । रातारात सेन्सर भएर भारतीय फिल्म नेपालमा प्रदर्शन भइरहनुले पनि राज्य संयन्त्रको निरीहपन देखाउँछ ।
.jpg)
विदेशी फिल्म नेपालमा प्रतिबन्ध लगाउन सम्भवतः सम्भव छैन । तर, चीन झैं कोटा प्रणालीमा विदेशी फिल्म चलाउन भने सम्भव छ । त्यसका लागि राज्यले नै नीतिगत तयारी गर्नुपर्छ । यस विषयमा झकझक्याउने काम चलचित्र विकास बोर्डको हो । तर, दुर्भाग्य के छ भने विदेशी फिल्मबाट उठेको विकास शुल्कबाट चलचित्र विकास बोर्डको रोजीरोटी चल्छ । कोरोनाकालमा विदेशी फिल्म प्रदर्शन नहुँदा बोर्ड कंगाल हुने अवस्थामा पुगेको थियो । त्यसैले नीति निर्माण नगरेसम्म प्रधानमन्त्रीले नै बोर्ड सम्हाले पनि विदेशी फिल्म नियन्त्रण गर्न सम्भव छैन ।
नेपालमा विदेशी फिल्ममाथि कोटा प्रणाली लगाउनु पर्छ भनेर आवाज उठाउनेमध्ये अग्रपंक्तिमा आउने नाम हो, भुवन केसी । विदेशी फिल्मले नेपालमा सांस्कृतिक अतिक्रमण गरिरहेको र ५ सय करोडमा बनेका विदेशी फिल्मसँग १-२ करोडका नेपाली फिल्म जुधिरहेको अवस्थामा पनि राज्यबाट कुनै सहयोग नमिलेको उनको तर्क हुने गर्थ्यो । तर, यतिबेला उनी प्रश्न गर्ने ठाउँबाट उक्लिएर त्यो कुरालाई राज्यको कानसम्म पुर्याउने निकायमा पुगेका छन् । बाहिर बसेर बोले जति काम गर्न कति गाह्रो-सजिलो हुन्छ, अब उनले बुझ्नेछन् ।
बुधवार चलचित्र विकास बोर्डको अध्यक्ष पदको कार्यभार सम्हालेका उनका लागि विदेशी फिल्ममाथि नियन्त्रण गर्नु नै पहिलो अग्नीपरीक्षा हुनेछ । किनकि, बाहिर रहँदा उनले बोर्ड यस विषयमा चुकेको टिप्पणी गर्ने गरेका थिए । अब बोर्ड हाँक्ने जिम्मेवारी नै उनको काँधमा छ । आफ्नो २ वर्षे कार्यकालमा विदेशी फिल्म नियन्त्रण वा कोटा प्रणाली मात्र लगाउन सकेको खण्डमा पनि उनको कार्यकाल सम्झनलायक रहनेछ । अब अध्यक्ष भएपछि उनको विदेशी फिल्मप्रति कस्तो धारणा बन्दै जानेछ, त्यो समयले पक्कै बताउला ।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दायाराम दाहाल भुवन केसीले आफूले बोलेको कुरा पूरा गर्छन् वा गर्दैनन् भनेर प्रतिक्रिया दिन अहिले नै हतार हुने बताउँछन् । उनले भने, ‘उहाँले हिजोबाट कार्यभार सम्हाल्नु भएको छ । फिल्म क्षेत्र बुझेको व्यक्ति हो उहाँ । बाहिर हुँदा उहाँले के बोल्नुभएको थियो त्यो सबैलाई थाहा छ । आशा गरौं, उहाँले बोलेको कुरा अब पूरा गरेर देखाउनु हुनेछ ।’

