कुनै बेला गीतको लोकप्रियताको मापन अडियो क्यासेट बिक्रीको आधारमा हुन्थ्यो । डिजिटल युगको आगमनपछि यूट्युबले गीतको सफलता र असफलता छुट्याउन थाल्यो । केही वर्षयता गीतको सफलता नाप्ने माध्यम टिकटक पनि बनेको छ । अचेल टिकटककै लागि लक्षित गरेर समेत गीत निकाल्न थालिएको छ । गीतमाथि धेरै टिकटक भिडियो बन्यो भने त्यसलाई नै हिटको संज्ञा दिइन्छ ।
.jpg)
यतिबेला यस वर्षको आशातित फिल्म ‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ गीत टिकटकमय बनेको छ । तिलिचो ताल र त्यसमाथिको मनमोहक क्षेत्रमा छायांकन भएको गीतमाथि टिकटक बनाउनेको संख्या लाखौं पुगेको छ । अहिलेसम्म यो गीतमा चार लाखभन्दा बढी टिकटक भिडियोहरु बनिसकेको र टिकटकमा एक करोडभन्दा बढी भ्यूज भइसकेको निर्माण टिमले जानकारी दिएको छ ।
यूट्युबमा भने यो गीत हेर्नेको संख्या १७ लाखभन्दा बढी छ । गीतको कमेन्ट बक्समा सकारात्मक प्रतिक्रियाको बाढी छ । यसअघि ‘कृष्ण लीला’को ‘त्यो कथामा एउटा राजा’ गीत पनि टिकटकमा अत्याधिक छाएको थियो । यो गीतलाई यूट्युबमा अहिलेसम्म ३७ लाख बढीले हेरिसकेका छन् । यी दुवैले गीतले पाएको लोकप्रियताले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।
बाबुल गिरीको संगीत र डा. डिआर उपाध्यायले लेखेको ‘ए मेरो हजुर’ गीतमा रबि ओड र सुनीता कार्कीको स्वर छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री फिचर गीतमा माइकल चन्दको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालले सम्पादन छ । यो गीतमा एक दिनमै ४० हजार बढी टिकटक भिडियो बनेको जानकारी कोरियोग्राफर माइकलले दिएका छन् ।
दीपक ओलीको निर्देशनमा बनेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन । फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नविन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागाईंको अभिनय छ । आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् ।
पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्माता र रमेश तामाङ लाइन प्रोड्युसर रहेको फिल्ममा रंग पत्रकार लक्ष्मण सुवेदीको लेखन, शिव ढकालको छायांकन अर्जुन जिसीको सम्पादन छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामीछाने र माइकल चन्दको नृत्य कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको ‘कृष्ण लीला’को वितरण निर्माण कम्पनी आरआर फिल्मस्ले नै गर्दैछ ।

