.jpg)
गायक हुँदै फिल्मको अभिनेता बनेका प्रशान्त तामाङ छोरीको पिता बनेका छन् । उनकी श्रीमती मार्था एली तामाङले बुधवार विहान दार्जिलिङको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । प्रशान्तले छोरीका केही ‘क्यूट’ तस्विरहरु सामाजिक सञ्जालमा साझेदार गर्दै आफू पिता बनेको खुशी व्यक्त गरेका छन् । उनले छोरीको नाम ‘आरिया’ राखेको पनि जानकारी गराएका छन् ।
प्रशान्त र मार्थाले करीब तीन वर्षअघि प्रेम विवाह गरेका थिए । मार्था पेशाले एयर होस्टेस हुन् । पछिल्लो समय प्रशान्त परिवारसँग दार्जिलिङमा नै बस्दै आएका छन् । एक समय गायन र फिल्म अभिनयमा सर्वाधिक व्यस्त रहेका उनको नयाँ फिल्म ‘परदेशी २’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको प्रचारका लागि उनी दशैंअघि नेपाल आउने जानकारी प्राप्त छ ।
प्रशान्तलाई गत वर्ष मातृशोक परेको थियो । कोरोनाका कारण उनको आमाको उपचारको क्रममा निधन भएको थियो । ‘इन्डियन आइडल ३’को विजेता भएपछि उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ लगायतका फिल्ममा अभिनय गरेका थिए । उनले गाएका ‘मन साइँली’, ‘अरे क्यानम’, ‘असारे महिना’, ‘रातो रानी’, ‘बतासै सरर’ जस्ता गीत चर्चित छन् ।

