.jpg)
अभिनेता भुवन केसीलाई मन्त्रिपरिषद्को बैठकले फिल्म क्षेत्रको नियमनकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेसँगै उनलाई फिल्मकर्मीदेखि शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् बधाई दिइरहेका छन् । कलाकार, निर्माता तथा निर्देशकको रुपमा फिल्म क्षेत्रको समस्या बुझेका उनले आफ्नो कार्यकालमा उपलब्धिमुलक कामहरु गर्ने धेरैको अपेक्षा छ ।
आफ्नो आगामी फिल्म ‘छड्के २’को वर्कसपका लागि केही दिनदेखि चितवनमा रहेका अभिनेता अनमोल केसीले पनि पितालाई चलचित्र विकास बोर्डको अध्यक्ष बनेकोमा सुन्दर शब्दले बधाई तथा कार्यकालको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा पितासँगको बाल्यकालको तस्विर पोस्ट गर्दै नेपाली फिल्मको श्रीवृद्धिमा थप योगदान रहनेमा विश्वास व्यक्त गरेका छन् ।
उनले पितालाई आफ्नो मार्गदर्शक र प्रेरणाको स्रोत भन्दै लेखेका छन, ‘बाटो हिँड्ने मान्छे भन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरुकै पाईलाहरु पछ्याउँदै यहाँसम्म आइपुगेको छु । आजबाट तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’
अनमोलले दिएको बधाई तथा शुभकामनाको शब्दले भुवनमाथि फिल्म क्षेत्रले राखेको आशा, विश्वास र भरोसा बोल्छ । हिजोसम्म प्रश्न गर्ने ठाउँमा रहेका भुवन अब प्रश्नको जवाफ दिने र समस्या समाधान गर्ने अहोदामा पुगेका छन् । दलीय नियुक्तिबाट अध्यक्ष बने पनि फिल्म क्षेत्रको नाडी छामेका उनले दुई वर्षे कार्यकालमा बोर्डको भित्तामा फोटो झुन्ड्याएर मात्र फर्किने छुट पाउने छैनन् ।

