.jpg)
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार ओएसआर यूट्युब च्यानलबाट सार्वजनिक भएको ३ मिनेट ३० सेकेन्डको ट्रेलर इन्गेजिङ छ । फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरेको ट्रेलरले प्रस्ट्याउँछ । बाल्यकालमा गाउँमा हुर्किएको प्रेम समयसँगै कसरी टाढा हुँदै जान्छ भन्ने कुरालाई ट्रेलरमा देखाइएको छ ।
अभिनेत्री बेनिशा हमाल र नव-अभिनेता तेज गिरीको बाल्यकालको भूमिकामा राइडर प्रशन र सुप्रिया खनालले अभिनय गरेका छन् । ट्रेलरका संवादहरु मनछुने छन् । बाल्यकालमा अगाध प्रेम गरेको प्रेमी वर्षौंसम्म गुमनाम हुँदा आँशुको साहरामा बाँचेकी बेनिशाले गाउँबाट शहर पसेपछि जीवन जिउनका लागि डान्स बारमा नृत्य गर्ने युवतीको भूमिकामा बुलन्द अभिनय गरेकी छन् ।
फिल्मलाई परिक्षेद सेनले निर्देशन गरेका हुन् । राजु फुँयाल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘प्रेमगन्ज’को लेखक परिच्छेद आफैं हुन् । सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् ।
किरण गुरागाईं, रेशम थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मल लामिछाने निर्माता रहेको फिल्मको सह-निर्मातामा प्रकाश झा, अन्जना श्रेष्ठ, भावना बस्नेत, शेखर पोखरेल, भरत काफ्ले, राजेश ढकाल, मित्रलाल ढकाल, उमाकान्त विक, विकल्प भट्टराई र ध्रुवराज घिमिरे छन् । यो फिल्मलाई मोफसलमा एफडी कम्पनी र काठमाडौंभित्र डिसिएनले वितरण गर्ने अधिकार लिएको छ ।

