बलिउडको एकपछि अर्को आशातित फिल्म डुब्ने क्रम रोकिएको छैन । यस वर्ष ‘जर्सी’, ‘पृथ्वीराज’, ‘ओम’, ‘जुग जुग जियो’ जस्ता फिल्म पत्तासाफ भइसकेका छन् । यसैक्रममा, बलिउडको अर्को ठूलो फिल्म ‘शमशेरा’ले पनि बक्सअफिसमा दम तोड्न थालेको छ । १० करोड २५ लाखको ओपनिङ विजनेश गरेको यो फिल्मले दोस्रो दिन १० करोड ५० लाख र तेस्रो दिन ११ करोड कमायो ।
चौंथो दिनबाट फिल्मको कमाई पट्यारलाग्दो बनेको छ । सोमवार फिल्मको कमाईमा ७१ प्रतिशत गिरावट आएको छ । बलिउड फिल्मको बक्सअफिस अंक बताउने कोइमोइका अनुसार, फिल्मले चौंथो दिन जम्मा ३ करोड कमाएको छ । कमजोर प्रतिक्रिया पाएको फिल्मले अब कमाईमा उछाल ल्याउने सम्भावना छैन । जसले गर्दा चार दिनमै फिल्मलाई ‘सुपरफ्लप’ भन्न थालिएको छ ।
चौंथो दिनको कमाई हेरेपछि १ सय ५० करोडमा बनेको ‘शमशेरा’ले भारतमा सय करोड पनि नकमाउने देखिन्छ । यो फिल्मबाट अभिनेता रणबीर कपूरले चार वर्षपछि पर्दामा कमब्याक गरेका हुन् । करण मल्होत्राको निर्देशन र संजय दत्त, वाणी कपूर, रोनित रोय र सौरभ शुक्ला जस्ता एकसेएक कलाकारहरुको अभिनयका बावजूद पनि फिल्मले दर्शकलाई रिझाउन असमर्थ भएको छ ।
फिल्मको सबैभन्दा कमजोर कडी यसको कथावस्तु र प्रस्तुतीकरण मानिएको छ । साउथका ‘पुष्पा’, ‘आरआरआर’ र ‘केजीएफ २’ जस्ता फिल्मबाट बढेको दर्शकको अपेक्षामा खरो उत्रन नसक्दा फिल्मले बक्सअफिसमा दम तोडेकोमा दुईमत छैन । नेपालमा समेत यो फिल्मलाई ठूलो रकम तिरेर भित्राइएको थियो । तर, भारतमा झैं नेपालमा पनि ‘शमशेरा’को अवस्था सुन्न लायक छैन ।

