.jpg)
अभिनेत्री बेनिशा हमालका लागि सोमवार (हिजो) विशेष दिन रह्यो । उनको जन्मदिनमा फिल्म ‘छक्का पञ्जा ४’को घोषण, मुहूर्त र छायांकन सुरु भएको थियो । यो फिल्ममा उनको मुख्य भूमिका छ । उनी लामो समयदेखि फ्लप फिल्मले धरमराएको करिअरलाई नयाँ जीवन दिने एउटा बलियो फिल्मको प्रतिक्षामा थिइन् । उनको त्यो सपना ‘छक्का पञ्जा ४’ले पूरा गर्नेमा सम्भवतः दुईमत छैन ।
अब आफूलाई पनि धेरैले चिन्ने विश्वास लिएकी बेनिशा ब्रान्ड फिल्मको सिरिजसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्छिन् । आफूलाई दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्ममा काम गर्ने इच्छा ‘छक्का पञ्जा’ आएदेखि नै रहेको उनको भनाई छ । उनले ‘छक्का पञ्जा ४’ पाउनुको किस्सा भने रोचक छ । दीपकराज गिरीले एउटा भवनको भूईंतल्लामा उनलाई फिल्मको प्रस्ताव गरेका रहेछन् ।
बेनिशा सम्झन्छिन्, ‘म एउटा फिल्मको प्रिमियरमा गएको थिएँ । बेसमेन्ट (भूईंतल्ला) मा गाडी कुरेर बसिरहेको बेला दीपक दाई र निर्मल दाईसँग भेट भयो । दीपक दाईले ‘असारमा के छ तिम्रो’ भनेर सोध्नुभयो । मैले खाली छु भनेँ । दीपक दाईले ‘खाली नै राख है’ भनेर जानुभयो । म हेरेको हेर्यै भएँ ।’ दीपकराज गिरीले यति भनेपछि आफूले महिनौं फोनको प्रतिक्षा गरेको उनी बताउँछिन् ।
‘असार आउन लाग्दा समेत कसैको फोन नआएन । एकदिन दीपा दिदीले कल गर्नुभयो र एक चरण कुरा त भएको थियो होला नी भनेर सोध्नुभयो । मैले दीपक दाईसँग त्यहीँ भूईंतल्लामा भएको कुरा एक चरणको रहेछ भनेर बुझेँ,’ बेनिशा खुशी प्रकट गरिन् । करिअरको सुरुवाती समयदेखि उनी अभिनीत कुनै फिल्म हिट छैनन् । ‘छक्का पञ्जा ४’ले भने उनलाई ठूलो राहत दिने देखिन्छ ।

