Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

राज आचार्य : ‘तितो सत्य’मा दीपक-दीपाको छोरा, ‘छक्का पञ्जा ४’मा हिरो

फिल्मीखबर, काठमाडौं, 2022/07/26
Raj Acharya
 
डेढ दशकअघिको चर्चित हाँस्य टेलिश्रृंखला ‘तितो सत्य’मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोराको भूमिकामा राज आचार्यले अभिनय गरेका थिए । यो सिरियलले उनलाई बाल्यकालमै दर्शकमाझ लोकप्रिय बनायो । हाँस्य सिरियलको चाम घट्न थालेपछि ‘तितो सत्य’ सधैंका लागि बन्द भयो । त्यसपछि अध्ययनमा केन्द्रित भएका राजले २०१९ मा चार्टर्ड एकाउन्टेन्टको पढाई सकाए । 
 
सिएको अध्ययनपछि कोरोना महामारीको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेका उनले गत असारमा अभिनेत्री सुनिशा बजगाईंसँग लगनगाँठो पनि कसे । विवाह गरेलगत्तै उनले फिल्मको हिरो बन्ने मौका पाएका छन् । ‘तितो सत्य’मा उनले जसको छोरा भएर वर्षौं अभिनय गरे, उनै (दीपक-दीपा) को फिल्म ‘छक्का पञ्जा ४’मा राज हिरो बनेका छन् । यो उनको डेब्यू फिल्म हो ।
 
फिल्ममा उनको जोडी परिक्षा लिम्बुसँग बाँधिएको छ । सिए अध्ययनकै क्रममा आफूलाई दीपकराज गिरीले एकसाथ काम गर्ने वाचा गरेको स्मरण गर्दै राजले भनेका छन्, ‘सिए पढेर आएपछि मैले २/३ वटा भिडियोमा अभिनय गरेँ । साढे २ वर्षअघि दीपक ड्याडीसँग च्याटमा कुरा हुँदा ‘हामी सँगै काम गर्छौं तर नहतारिनु’ भन्नुभएको थियो । आज त्यो अवसर जुरेको छ, साह्रै खुशी छु ।’
 
‘तितो सत्य’मा ठूलो ‘स्पेश’ पाएका राजले नाम चलेका कलाकारहरुको ठूलो जत्था रहेको ‘छक्का पञ्जा ४’मा कति सशक्त भूमिका पाएका छन् र त्यसमा कति बुलन्द अभिनय गर्न सक्छन्, त्यो भने प्रतिक्षाको विषय बनेको छ । यो फिल्मबाट अभिनयमा राम्रो सम्भावना देखाएको खण्डमा उनको आगामी फिल्मी यात्रा सहज बन्ने निश्चित छ । फिल्म त ‘स्योर सट’ ब्लकबस्टर हुने पक्का छ ।