Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमित ढुंगानाको ‘मुस्कान’मा वन मन्त्रीले अभिनय नगर्ने

फिल्मीखबर, काठमाडौं, 2022/07/26
muskan khatun and ramit dhungana
 
अभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा निर्माण गर्न लागेको फिल्म ‘मुस्कान’मा वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभिनय नगर्ने भएका छन् । सोमवार उनले फिल्ममा विशेष भूमिकामा अभिनय गर्न लागेको खबर बाहिरिएको थियो । तर, मंगलवार फेसबुकमा स्टाटस लेख्दै उनले कार्यव्यस्तताले गर्दा फिल्ममा काम गर्न नसक्ने बताएका छन् ।
 
फिल्ममा अभिनय गर्न लागेको भन्ने विषयमा आएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले लेखेका छन्, ‘समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्ममा अभिनय गर्ने विषयमा केही समय अगाडि रमित ढुङ्गानाज्यूको प्रस्ताव आएको थियो । विभिन्न चरणमा छलफल पनि भयो तर अहिले थपिएको जिम्मेवारका कारण फिल्मका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु ।’  
 
उनले मुस्कानको जीवनीमा आधारित फिल्मसँगै उनको उज्ज्वल भविष्यसँग जोडिएका अन्य हरेक सामाजिक कार्यप्रति भने आफ्नो समर्थन रहने बताएका छन् । मुस्कानमाथि भएको एसिड आक्रमणमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने पात्रलाई पनि फिल्ममा समेट्न रमितले प्रदीप यादवलाई मन्त्री हुनुभन्दा अगावै अभिनयको प्रस्ताव राखेका थिए । त्यसबेला उनले काम गर्ने वचन दिएका थिए । 
 
प्रदीप यादव मन्त्री बन्दा रमित अमेरिकामा थिए । यसै साता नेपाल फर्किएका उनले केही दिनअघि फिल्मको विषयमा कुराकानी गर्न मन्त्री यादवसँग भेट गरेका थिए । उक्त भेटमा मन्त्री यादवले आफूमाथि थपिएको जिम्मेवारीका कारण अब फिल्ममा अभिनय गर्न नसक्ने जानकारी गराएका थिए । रमितका अनुसार, एसिड आक्रमणपछि मुस्कानलाई सहयोग गर्नेमध्ये प्रदीप पनि एक हुन् । 
 
यही साउन अन्तिमबाट छायांकन सुरु हुने फिल्म ‘मुस्कान’मा मुस्कान खातुनकै मुख्य भूमिका रहनेछ । फिल्मलाई रमित ढुंगाना स्वयंले निर्माण तथा निर्देशन गर्नेछन् । फिल्ममा पूर्वप्रधानमन्त्री माधव नेपाल, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पनि अभिनय रहने बताइएको छ । २०७६ सालमा बिद्यालयबाट फर्किने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रामण भएको थियो ।