
कमल एक्चै मगर निर्देशित फिल्म ‘डेसान’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २३ गतेलाई प्रदर्शन मिति तोकिएको छ । सार्वजनिक दुईटा पोस्टरमा कलाकारको ‘मुड’ फरक-फरक छ । एउटा पोस्टरमा अभिनेत्री पुनम थापा र अभिनेता निशान चौहान रोमान्टिक भावमा प्रस्तुत छन् भने अर्को पोस्टरमा यी दुईसँगै नम्रता सापकोटा र भोला सापकोटा गम्भीर मुद्रामा देखिन्छन् ।
पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा निर्मित फिल्ममा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको पनि अभिनय छ । चक्रबहादुर महर्जनले खिचेको फिल्मको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । मिलन श्रेष्ठले सम्पादन गरेको ‘डेसान’लाई एफडी कम्पनी र जिजिए ग्रुपले वितरण गर्दैछ ।
कोरोना कहरमा खिचिएको फिल्मले मनोरञ्जनका साथै सन्देश समेत दिने निर्देशक मगरको भनाई छ । राज थापा काउचाको कथा रहेको फिल्मको स्क्रिप्ट निर्देशक कमल स्वयंको हो । कृशाला मगर फिल्मकी कार्यकारी निर्माता हुन् । ‘म्यानहन्ट नेपाल २०१६’का मिष्टर पर्सनालिटी र ‘टप मोडल नेपाल २०१८’का विजेता रहेका निशान चौहानले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

