टेलिभिजनको दुनियाँमा हाँस्य टेलिश्रृंखलाबाट ठूलो नेम र फ्रेम बनाएका कलाकारहरु केदार घिमिरे (माग्ने बुढा), सिताराम कट्टेल (धुर्मुस), जितु नेपाल (मुन्द्रे) लगायतलाई एकजुट बनाएर दीपकराज गिरी र दीपाश्री निरौलाले पहिलो पटक फिल्म ‘६ एकान ६’ निर्माण गरे । पहिलो फिल्म नै हिट भएपछि यो समुहले ‘बडा नम्बर ६’ निर्माण गर्यो । यो फिल्मपछि सिताराम टिमबाट अलगिए ।
तेस्रो फिल्म ‘छक्का पञ्जा’पछि कलाकार निर्मल शर्मा (गैंडा) ले पनि टिम छाडे । ‘छक्का पञ्जा ४’मा भने उनी फेरि जोडिएका छन् । दीपक-दीपा समुहको पहिलो फिल्मदेखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’सम्म अभिनय गरेका जितु नेपाल ‘छक्का पञ्जा ४’मा नअट्नुले टिम फेरि फुटेको देखिन्छ । तर, सोमवार जितुले फिल्मको मुहूर्त समारोहमा पुगेर मित्रताको सकारात्मक सन्देश दिए ।

महानायक विवादमा मुछिएका कारण दीपाश्रीलाई ‘मुन्द्रेको कमेडी क्लब’बाट हटाएपछि जितुले उपहार स्वरुप आफ्नै हिट फिल्मकै सिरिजबाट हात धुनु परेको स्पष्ट छ । तर, दीपक-दीपाको समुहसँग उनको बोलचाल नै बन्दको स्थिति भने छैन । ‘छक्का पञ्जा ४’का लागि शुभकामना दिन उनी फूलको बुकेट लिएर जानुले पनि उनीहरुको व्यक्तिगत सम्बन्धमा परिवर्तन नआएको देखिन्छ ।
जितुले दीपकराज र केदारलाई फूलको बुकेट दिँदै आफूहरुको सम्बन्ध सधैं जीवित रहने बताए । उनी भन्छन्, ‘हिजोका दिनमा ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बाँस्सै’ छुट्टा-छुट्टै गर्दा हामीबीच एकखालको प्रतिस्पर्धा जस्तै थियो । त्यसबेला पनि हामीले एकसाथ दशौं वर्षसम्म गाइजात्रा गर्यौं । त्यसैले एउटा फिल्ममा नहुनुले कुनै माइने राख्दैन । मेरो भूमिका आएछ भने म सधैं तयार हुन्छु ।’
उनी आफ्नो र दीपकराज गिरीको स्वभाव पनि फरक रहेको बताउँछन् । ‘दीपक दाई रिजर्भ बस्न रुचाउनुहुन्छ । म भने फिटफिटे खालको छु,’ उनले अगाडि भने, ‘मेरो स्वभाव सबै ठाउँमा फैलिऊँ भन्ने खालको छ । त्यसैले यही टिममा मात्र रहेर काम गर्ने भन्ने होइन । म स्वतन्त्र छु । मलाई रोल र पारिश्रमिक चित्त बुझ्छ भने काम गर्छु । त्यसका लागि सबैभन्दा खुल्ला त यतातिर नै छु ।’
दीपकराज भने जितुसँगको सम्बन्धलाई उदाहरणको रुपमा लिन्छन् । आफूहरु काम पर्दा मात्र अंगालो मार्ने साथी नरहेको उनको तर्क छ । ‘हामीबीचको व्यवसायिक सम्बन्ध र व्यक्तिगत सम्बन्धमा आकाश-जमिनको फरक छ । हामी अस्वस्थ प्रतिस्पर्धा गर्ने, मित्रतामा खोट आउने खालको सन्देश दर्शकहरुलाई दिने पक्षमा छैनौं । हामीले फेरि चाँडै नै सहकार्य गर्नेछौं,’ दीपकले वाचा गरे ।

