दीपकराज गिरी र दीपाश्री निरौला समुहको ब्लकबस्टर सिरिज फिल्म हो, ‘छक्का पञ्जा’ । यसका तीनवटै सिरिजले बक्सअफिसमा कमाईको ठूलो रेकर्ड बनाएका छन् । पहिलो सिरिजदेखि नै निर्देशनको जिम्मेवारी दीपाश्री निरौलाले सम्हाल्दै आएकी थिइन् । तर, यसको चौथौं सिरिजमा भने उनी कलाकारको रुपमा मात्र देखिनेछिन् । फिल्म निर्देशनको जिम्मेवारी हेमराज विसीको काँधमा छ ।
सोमवार फिल्मको मुहूर्त समारोहमा दीपाश्रीले ‘छक्का पञ्जा ४’ निर्देशन नगर्नुको कारण खुलाइन् । फिल्मको कथा हेमराज विसीको रहेको बताउँदै उनले भनिन्, ‘यसपाली हामी फिल्म निकाल्ने तयारीमा थिएनौं । हेमराजजीले यस्तो कथा ल्याउनुभयो कि जसलाई बुन्दा ‘छक्का पञ्जा ४’ हुन गयो । त्यसैले त्यो कथालाई मैले भन्दा हेमराजजीले नै न्याय गर्न सक्नुहुन्छ भन्ने लागेर निर्देशन गरिनँ ।’

पहिलो पटक दीपक-दीपाको समुहसँग सहकार्य गरेका हेमराज विसीले ब्रान्ड भइसकेको फिल्मको सिरिज निर्देशन गर्दा स्वभाविक रुपमा भार रहने बताए । तर, आफ्नो लागि सबै फिल्म उतिक्कै महत्त्वपूर्ण हुने र राम्रो बनाउन सकेको प्रयास गर्ने उनको भनाई छ । दीपक-दीपाको फिल्ममा निर्देशक ‘सेरेमोनियल’ हुने बताइन्छ । यस विषयमा हेमराज फिल्म टिमवर्कले राम्रो बन्ने बताउँछन् ।
कलाकार तथा निर्माता दीपकराज गिरीले पनि स्पोर्ट ब्वाईदेखि निर्देशकसम्मको टिमवर्कले फिल्म बन्ने बताए । उनले आफूहरुको फिल्ममा कसैको शतप्रतिशत निर्देशन नरहे पनि स्पष्ट पारे । ‘हामी सबैले एकअर्कालाई सल्लाह-सुझाव दिँदै र साथ-सहयोग गर्दै अगाडि बढ्ने हो । जसरी हुन्छ फिल्मलाई राम्रो बनाउनु पर्छ । हाम्रो फिल्ममा सबै सेरेमोनियल र सबै कार्यकारी हुन्,’ उनले भने ।
‘कबड्डी ४’को व्यवसायिक रेकर्ड तोड्न ‘छक्का पञ्जा ४’ बनाउन नलागेको पनि दीपकराजको तर्क छ । जनताको मनमा बसेको रेकर्ड ठूलो हुने बताउँदै उनले भने- ‘दर्शकहरुको मनमा कुन फिल्मको रेकर्ड कसरी बसेको छ र कति वर्षसम्म बस्नेवाला छ, त्यो ठूलो हो । बजारबाट आएका रेकर्डमा न म दाबी गर्थे न अरुको रेकर्डसँग वास्ता गर्छु । हामीलाई आँकडाको पछाडि लाग्नु छैन ।’

