.jpg)
अभिनेत्री मलिका महतको डेब्यू फिल्म ‘यात्रा’ व्यवसायिक रुपमा सफल हुन सकेन । यद्यपि, उनको सुन्दरता र अभिनयको भने राम्रै प्रशंसा भएको थियो । यही फिल्म हेरेर उनलाई कलाकार खगेन्द्र लामिछानेले आफ्नो फिल्म ‘पानीफोटो’ अफर गरेका थिए । आफूले निर्वाह गर्ने क्यारेक्टर मन परेपछि मलिका काम गर्न सहर्ष राजी भइन् । यो फिल्म यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।
लकडाउनमा अभिनय गरेको ‘फूलबुट्टे सारी’ गीतबाट एकाएक चर्चामा आएकी उनी आफू एकपटक कुनै क्यारेक्टरमा छिरेपछि त्यसैमा बसिराख्ने बताउँछिन् । ‘पानीफोटो’को छायांकनका लागि स्याङ्जा जाँदा आफू केही दिनमा नै त्यहीँकै मान्छे जस्तो देखिन थालेको उनी स्मरण गर्छिन् । अभिनेत्री मेनुका प्रधानसँग राम्रो बोन्डिङ बनेकाले काम गर्न सजिलो भएको मलिकाको अनुभव छ ।
‘फिल्ममा मेरो बढीजसो सिन मेनिका दिदीसँग थियो । छायांकन हुनुभन्दा अगावै दिदीसँग मेरो राम्रो बोन्डिङ बनिसकेको थियो । सेटमा हामी एकदमै मिल्थ्यौं । त्यसैले पनि मलाई काम गर्न सजिलो भयो,’ उनले भनिन् । ‘पानीफोटो’को ट्रेलर र टिजरमा आफ्नो क्यारेक्टर र अभिनयलाई मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित रहेकी मलिका फिल्म आफैंमा राम्रो बनेको दाबी गर्छिन् ।
फिल्ममा आफूले राधाको क्यारेक्टरमा अभिनय गरेको जानकारी दिँदै उनले अगाडि भनेकी छन्, ‘राधाको जुन इमोसन छ, त्यो धेरै हदसम्म मेरो व्यक्तिगत क्यारेक्टरसँग पनि मिल्दोजुल्दो छ । यही कारणले राधा क्यारेक्टरसँग जोडिन मलाई थप सजिलो भयो । मैले आफ्नो चरित्रमा गरेको मेहेनत फिल्ममा देखिएको छ भन्ने लाग्छ ।’ फिल्मलाई खगेन्द्र लामिछाने स्वयंले निर्देशन गरेका हुन् ।

