Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘श्री माग्ने राजा’ होइन, ‘छक्का पञ्जा ४’ बनाउँदै दीपक-दीपा

फिल्मीखबर, काठमाडौं, 2022/07/25
deepakraj giri and deepashree
 
नेपाली फिल्म क्षेत्रलाई हाँकिरहेको दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले फिल्म ‘छक्का पञ्जा ४’को शुभमुहूर्त गर्दै छायांकन सुरु गरेको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । दीपक-दीपाको समुहले ‘श्री माग्ने राजा’ नाममा फिल्म बनाउने चर्चा चलेको भएता पनि अन्ततः ब्रान्ड फिल्मकै सिरिजलाई अगाडि सारिएको छ ।
 
‘छक्का पञ्जा’को अघिल्ला तीन सिरिजलाई निर्देशन गरेकी दीपाश्री निरौलाको यसपटक अभिनय मात्र रहनेछ । फिल्मको निर्देशन गर्ने जिम्मेवारी हेमराज विसीले पाएका छन् । नरेन्द्र मैनालीको छायांकन रहने फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् । साउनभित्र सम्पूर्ण छायांकन भ्याएर आगामी कात्तिकमा फिल्मलाई प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । 
 
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहनेछ । दीपक-दीपा समुहको पहिलो फिल्म ‘६ एकान ६’देखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’सम्म मुख्य भूमिकामा अभिनय गरेका जितु नेपाललाई भने ‘छक्का पञ्जा ४’मा अटाइएको छैन । 
 
‘छक्का पञ्जा ३’ले घरेलू बक्सअफिसमा बनाएको सर्वाधिक कमाईको रेकर्ड फिल्म ‘कबड्डी ४’ले तोडेपछि दीपक-दीपाको समुहले उक्त फिल्मको रेकर्ड तोड्न ‘छक्का पञ्जा ४’लाई अगाडि सारेको स्रोत बताउँछ । ‘श्री माग्ने राजा’ नाममा फिल्म बनाउँदा ‘कबड्डी ४’को रेकर्ड तोड्न असम्भव नै हुन्थ्यो । यही कारण यो समुहले तत्काल नयाँ नाममा फिल्म बनाउने हिम्मत नगरेको बताइन्छ ।