Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रकाश’ले देशको भविष्य देखाउँछ : प्रदीप खड्का

फिल्मीखबर, काठमाडौं, 2022/07/24
पहिलो पटक आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर फिल्म ‘प्रकाश’मा अभिनय गरेका अभिनेता प्रदीप खड्काले दश वर्षको सशस्त्र जनयुद्धको बलमा आएको व्यवस्थाका केही कमी-कमजोरीले भविष्यमा अर्को विद्रोह ल्याउन सक्छ भन्ने कुरालाई फिल्मले देखाउने बताएका छन् । प्रचारको क्रममा बुटवल पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै फिल्मले भविष्य देखाउने दाबी गरे । 
 
उनले भने- ‘व्यवस्थाको सम्मान गर्नुपर्छ तर त्यसका कमजोरीहरु सुधार्न गर्न ढिला पनि गर्नु हुँदैन । फिल्म पनि एउटा साहित्य हो र साहित्यले भविष्यको प्रेडिक्सन गर्न सक्छ । यही विषय भन्न लेखकले पुस्तक लेख्न सक्ने भएपनि फिल्म नै बनाउनुको कारण यसले प्रस्तुत गर्ने विषय धेरै दर्शकमाझ पुगोस् भन्ने हो ।’ सामाजिक विषय उठान गरेपनि फिल्म व्यवसायिक रहेको प्रदीपको भनाई छ ।
 
pradeep khadka
 
प्रदीपसँगै बुटवल पुगेकी अभिनेत्री दिया मास्केले आफ्ना लागि ‘प्रकाश’को पात्र निकै चुनौतीपूर्ण रहेको बताइन् । ‘मैले छायांकन सुरु हुनुभन्दा अगाडि जुम्ला पुगेर त्यहाँको रहनसहन र भाषा तथा लवज सिकेको थिएँ,’ उनले भनिन्, ‘फिल्ममा मैले निभाएको पात्रको सपना नै उसको परिवारको सपना हो । त्याग, सहनशिलता, धैर्यता, जिम्मेवारी के हो मैले निर्वाह गरेको पात्रले बुझाउँछ ।’ 
 
त्यस्तै, यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी रेणु योगीले ‘प्रकाश’ आफ्नो करिअरका लागि अर्थपूर्ण रहेको बताउँदै फिल्ममा आफूले जुम्लाको एक विपन्न युवतीको भूमिकामा अभिनय गरेको जानकारी दिइन् । फिल्मका लागि आफूले पनि त्यहाँको भाषा, रहनसहन, हिँड्ने, बोल्ने सबै तरिका गहिराइमा सिकेको उनको भनाई छ । योगी नाटक हुँदै फिल्ममा प्रवेश गरेकी हुन् । 
 
‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउत निर्देशित यस फिल्ममा प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतको पनि अभिनय छ । महेन्द्र अधिकारीले निर्माण गरेको फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा वाचन गरेको छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।