
भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगन्ज’को युरोप प्रदर्शन अधिकार बिक्री भएको छ । जर्मनीस्थित लोकाह फिल्म इन्टरनेशनलले फिल्मको युरोप प्रदर्शन अधिकार खरिद गरेको हो । आइतवार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगन्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।
फिल्मका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा फिल्मको प्रदर्शन अधिकार बिक्री गर्नुको उद्देश्य पैसाका लागि मात्र नभइ नेपाली फिल्मको प्रदर्शनका लागि ढोका खोल्नु रहेको बताए । यसले भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई पनि बाटो खुल्ने उनको विश्वास छ । भारतमा पनि फिल्म प्रदर्शनका लागि प्रतिष्ठित कम्पनी पिभिआरसँग निरन्तर छलफल भइरहेको उनले बताए ।
.jpg)
राजु फुयाँल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरेको छ । सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन, सुप्रिया खनाल, रश्मी भट्ट, गीता अधिकारी, नरेश पौडेल, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको अभिनय छ भने अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् ।

