अभिनयका पारंगत मानिने खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको फिल्म ‘पानीफोटो’ यही साउन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । करीब १८/१९ वर्षअघि गुरुकुलमा मञ्चन भएको ‘पानीफोटो’ नाटकको कथामाथि उनले फिल्म बनाएका हुन् । नाटकको कथा तथा निर्देशन खगेन्द्र स्वयंको थियो । फिल्ममा द्वन्द्वकालिन समयमा बेपत्ता भएका परिवारको कथालाई प्रस्तुत गरिएको छ ।
खगेन्द्र ‘पानीफोटो’को कथा बेपत्ता भएका व्यक्तिको नभइ उसको परिवारको रहेको बताउँछन् । शुक्रवार एक भेटमा उनले भने- ‘फिल्मको कथा नै बेपत्ता भएका परिवारको हो । बेपत्ता भएको छोराको खोजीमा रहेका आमा-बुबाको कथा फिल्मले भन्छ । कथा चाहिँ अहिलेको हो । द्वन्द्वकालिन समयको प्रभाव अहिले नेपाली समाजमा के छ र के पनि छ भन्ने फिल्मले स्पष्टसँग देखाउँछ ।’
(3).jpg)
फिल्मको कथासँग आफ्नो बाल्यकालदेखिको कनेक्सन जोडिएको खगेन्द्रको भनाई छ । आफ्नो मामा १६ वर्षको उमेरमा हराएको सम्झँदै उनी भन्छन्, ‘मैले मामालाई देखेको नै छैन । मेरो ९४ वर्षको हजुरआमा अहिले पनि छोरा आउँछ भन्दै बस्नुभएको छ । हजुरआमाको आशाले म पनि मामाको प्रतिक्षामा छु । बच्चादेखि नै यो कुरा सुनेकाले मेरो मस्तिष्कमा गहिरो छाप बसेको थियो ।’
सशस्त्र द्वन्द्वमा हजारौं मानिस बेपत्ता भएपछि हजुरआमाको पीडालाई थप नजिकबाट महशुस गरेका उनलाई ‘पानीफोटो’ नाटक लेख्ने हुटहुटी त्यसैले जाग्यो । नाटकलाई धेरैले रुचाएपछि त्यो कथा अझ धेरै मानिससम्म पुर्याउनु पर्छ सोचेका उनले भविष्यमा आफैंले फिल्म बनाउने अठोट लिए । २० वर्षदेखि बुनेको सपना आज साकार हुँदा उनलाई ठूलै युद्ध जितेको महशुस भएको छ ।
फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, अशान्त शर्मालगायतको महत्त्वपूर्ण भूमिका छ । रोजिना सिटौला र रविन्द्र बज्राचार्य निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको स्थलगत सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन र पुष्पा संगमको पार्श्व संगीत छ ।

