‘मिस नेपाल’बाट उदाएकी नीति शाह अब फिल्मकी अभिनेत्री बन्ने भएकी छन् । उनले निर्माणको तरखरमा रहेको फिल्म ‘एक्स ९’ साइन गरेकी हुन् । अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कामध्ये एकको फिल्मबाट डेब्यू गर्ने इच्छा देखाएकी उनले अन्ततः अनमोलकै मुख्य भूमिका रहने फिल्मबाट अभिनेत्री बन्ने सौभाग्य पाएकी छन् । मुकुन्द भट्टको निर्देशनमा फिल्म बन्न लागेको हो ।

फिल्ममा नीतिको जोडी अनमोलसँगै बाँधिने छ । उनीहरुले एउटै स्कूलमा पढेका हुन् । विश्वस्त स्रोतका अनुसार, नीतिले १० लाख रुपैयाँमा फिल्म साइन गरेकी हुन् । मंसिरपछि छायांकनमा निस्कने फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, अर्पण थापालगायतको पनि अभिनय रहनेछ । फिल्ममा भारतका चर्चित अभिनेता सुनील सेट्टीले पनि अभिनय गर्ने बताइएको छ ।
फिल्मको पहिला क्यानडामा छायांकन गर्ने तयारीमा निर्माण टिम छ । पुष्प र अनमोलले भिसा प्रक्रियाका लागि निर्माण टिमलाई पासपोर्ट बुझाइसकेका छन् भने नीतिले पनि फिल्म साइन गरेसँगै पासपोर्ट दिएकी छन् । क्यानडापछि फिल्मको यूरोप र नेपालमा छायांकन हुनेछ । सिरिजको रुपमा निर्माण हुन लागेको ‘एक्स ९’लाई नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म भनिएको छ ।

यो फिल्मको गत वर्ष नै छायांकन थाल्ने तयारीमा निर्माण टिम थियो । त्यसका लागि एक्सन अवतारमा प्रस्तुत हुन सौगात, अनमोल र पुष्पले तीन महिना जिम र एक्सनको तालिम समेत लिए । तर, पछि विभिन्न कारणले फिल्म छायांकनमा जान सकेन । अब फेरि निर्देशक मुकुन्द भट्ट टिम जुटाएर छायांकनमा निकस्ने प्रयास गर्दैछन् । फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्ने उनको उद्देश्य हो ।

