Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दीपक-दीपाको फिल्ममा बेनिशा र मलिना पक्का

फिल्मीखबर, काठमाडौं, 2022/07/22
deepakraj giri, banisha hamal and malina joshi
 
२०७६ सालमा प्रदर्शन भएको फिल्म ‘छ माया छपक्कै’पछि दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्न लागेको नयाँ फिल्मका लागि मुख्य भूमिकामा दुई अभिनेत्रीको टुंगो लागेको छ । निर्माण टिमले अभिनेत्री द्वय बेनिशा हमाल र मलिना जोशीलाई अनुबन्ध गरेको हो । लामो समयदेखि फ्लप फिल्मको बोझ खेप्दै आएका यी दुई अभिनेत्रीलाई यसपटक भने राहत मिल्ने देखिन्छ ।
 
हेमराज विसीले निर्देशन गर्ने फिल्मको नाम अझै निर्माण टिमले फाइनल गरेको छैन । चलचित्र विकास बोर्डमा ‘छक्का पञ्जा ४’ र ‘श्री माग्ने राजा’ नाम दर्ता गरिएको भएपनि कुन नाममा फिल्म बनाउने भन्ने विषयमा दीपक-दीपाको समुह छलफलमै छ । सम्भवतः ‘श्री माग्ने राजा’ नाममा नै फिल्म बन्न सक्नेछ । साउन ९ गतेबाट फिल्मको मुहूर्त गरेर छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।
 
फिल्ममा बेनिशा र मलिनासँगै दीपकराज गिरी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाहल, दीपाश्री निरौला लगायतको पनि अभिनय रहनेछ । ‘६ एकान ६’बाट दीपक-दीपा समुहसँग जोडिएर काम गर्दै आएका जितु नेपाल भने यसपटक फिल्ममा रहने छैनन् । ‘मुन्द्रेको कमेडी क्लब’बाट महानायक विवादका कारण दीपाश्रीलाई हटाएपछि त्यसैको झोकमा उनलाई पनि टिमले हटाएको हो ।
 
दीपकराजको समुहले गत असारबाट छायांकन थालेर यसपालीको दशैंमा फिल्म प्रदर्शन गर्ने योजना बनाएको थियो । तर, स्क्रिप्ट फाइनल हुन समय लागेपछि फिल्मको छायांकन धकलियो । अब साउनभित्र छायांकन पूरा गरेर कात्तिक दोस्रो साताबाट फिल्म प्रदर्शनमा गर्ने तयारीमा दीपक-दीपाको टिम रहेको छ । फिल्ममा बेनिशा र मलिना दीपकराजको जोडीको रुपमा प्रस्तुत हुनेछन् ।