Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपेन्द्रको निर्देशनमा ‘चंगाचेट २’ बन्ने, अर्पण फाइनल

फिल्मीखबर, काठमाडौं, 2022/07/22
dipendra k khanal and arpan thapa
 
२०७५ सालमा प्रदर्शन भएको फिल्म ‘चंगाचेट’को दोस्रो सिरिज निर्माण हुने भएको छ । शुक्रवार चलचित्र विकास बोर्डमा निर्मात्री शर्मिला पाण्डेले फिल्मको नाम दर्ता गराएकी हुन् । आगामी मंसिरपछि छायांकन सुरु हुने फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् । यसको अघिल्लो श्रृंखलाको निर्देशक पनि उनी नै हुन् । उनले अब स्क्रिप्ट लेखनको काम सुरु गरिने जानकारी दिए । 
 
‘चंगाचेट’लाई माधव वाग्लेले निर्माण गरेका थिए । फिल्म प्रदर्शनको समयमा वाग्लेलाई आर्थिक समस्या उत्पन्न भएपछि निर्मातामा शर्मिला जोडिएकी थिइन् । निर्माता वाग्लेबाट ‘चंगाचेट’को अधिकार लिएर शर्मिलाले फिल्म बनाउन लागेकी हुन् । यो फिल्मको ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले पनि उतिक्कै चर्चामा छ । यही गीतले फिल्मको व्यापारमा समेत फाइदा पुगेको थियो ।
 
निर्देशक खनालले ‘चंगाचेट २’मा अभिनेता अर्पण थापा फाइनल भइसकेको बताए । अन्य कलाकार भने स्क्रिप्ट फाइनल भएपछि मात्र छनोट गरिने उनको भनाई छ । यसपटक आफूले गम्भीर कथालाई रमाइलो तरिकाले प्रस्तुत गर्ने उनले बताए । दीपेन्द्रले भने- ‘सामाजिक कथालाई अलिकता व्यवसायिक रुपले प्रस्तुत गर्नुपर्छ भन्ने लागेर अब एक/दुईवटा फिल्म त्यसरी नै निर्माण गर्नेछौं ।’ 
 
शर्मिलासँग दीपेन्द्रले फिल्म ‘लभ लभ लभ’देखि सहकार्य गर्न थालेका हुन् । यसपछि उनीहरुले डीएस डिजिटलबाट ‘आमा’, ‘घर’, ‘चिसो मान्छे’ फिल्मको निर्माण गरिसकेका छन् । ‘चंगाचेट २’पछि शर्मिला र दीपेन्द्र ‘आमा’को दोस्रो सिरिज निर्माण गर्ने तयारीमा छन् । दीपेन्द्रले आफूलाई सामाजिक विषयवस्तुमा गम्भीर प्रकृतिको फिल्म बनाउने निर्देशनकको रुपमा स्थापित गरेका छन् ।