Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनको स्वीकारोक्ति- ‘मेरो ज्यानअनुसार आवाज छैन’

फिल्मीखबर, काठमाडौं, 2022/07/22
Sabin Shrestha
 
नेपालमा शारीरिक रुपमा फिट नायकको नाम लिनुपर्दा सविन श्रेष्ठ छुट्दैनन् । फिल्म ‘अन्दाज’बाट नायकको रुपमा डेब्यू गरेका उनी सिक्स प्याकका धनी छन् । उनी आजका दिनमा पनि दिनहुँ घन्टौंसम्म जिममा पसिना बगाउँछन् । तर, उनको शरीर जति विशाल छ, आवाज त्यति भारी सुनिन्न । जसले गर्दा सविनले अभिनय गरेका प्रायःजसो फिल्ममा अर्कैले आवाज भर्ने गरेका छन् । 
 
डेब्यू फिल्मदेखि नै उनको आवाज फिल्ममा समावेश भएको छैन । बिहीवार फिल्म ‘म’को ट्रेलर रिलिज भयो । फिल्ममा सविनको विशेष भूमिका छ । ट्रेलरमा उनलाई पनि स्थान दिइएको छ तर, आवाज भने अर्कैको सुनिन्छ । फिल्मका निर्माता प्रकाश पुरीले शरीरअनुसार आवाज अलि नसुहाउँदा सविनको डबिङ अर्कैले गरेको जानकारी दिए । सविन श्रेष्ठले पनि यो कुरा स्वीकार गरे ।  
 
उनले भने- ‘जस्तो मेरो ज्यान छ, त्यो अनुसारको आवाज छैन । मेरो आवाज एकदमै पातलो सुनिन्छ । ज्यानअनुसार आवाज पनि मेल खानुपर्छ । त्यही भएर मेरो आवाज फिल्ममा नराखिएको हुनसक्छ । म आफैंले पनि ‘म’को निर्मातालाई डबिङ चाहिँ अर्कैबाट गराउनु भनेको थिएँ ।’ उनले आफू निकै लजालु स्वभावको रहेकाले सार्वजनिक कार्यक्रमहरुमा बोल्न पनि अप्ठ्यारो लाग्ने बताए । 
 
यही साउन २० गते ‘म’ रिलिज हुँदैछ भने यसपछि सविन आफ्नै होम प्रोडक्सनबाट फिल्म निर्माण गर्दैछन् । उनले निर्देशक सविर श्रेष्ठसँग मिलेर नयाँ फिल्म बनाउन लागेका हुन् । पछिल्लो समय फिल्मभन्दा अभिनेत्री अनु शाहसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेका उनले अनुसँग बनाएका भ्लगलाई दर्शकहरुले रुचाउने गरेका छन् । जसबाट उनको आम्दानी पनि राम्रो हुने गर्छ ।