Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम चर्चाका बीच श्रद्धासँग जन्मदिन मनाउँदै पुष्पले भने- ‘असल मित्रता छ’

फिल्मीखबर, काठमाडौं, 2022/07/21
फिल्म प्रदर्शनको संघारमा हुँदा कलाकारहरुको प्रेम सम्बन्धको चर्चा उत्कर्षमा रहन्छ । भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’का अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री पनि गहिरो प्रेममा रहेको चर्चा यतिबेला व्यापक छ । बिहीवार पुष्पको जन्मदिन सेलिब्रेट गर्न श्रद्धा भारतबाट धाइधाइ नेपाल आउनुले उनीहरुबीच प्रेमको अंकुरण भएको कुरा नकार्न सकिन्न ।
 
puspa and shradha
 
३२ वर्षमा टेकेका पुष्प र ‘कृष्ण लीला’का निर्देशक दीपक वलीको जन्मदिन मनाउन आयोजित कार्यक्रममा श्रद्धाले पुष्पलाई राधा-कृष्णको मूर्ति उपहार दिइन् । पुष्पले पनि प्रेमपूर्वक उपहार ग्रहण गरे । श्रद्धाले कृष्ण र राधाको मुर्ति उपहार दिनुको कारणबारे भनिन्, ‘पुष्पलाई के दिऊँ के दिऊँ भन्ने भएको थियो । केही रिलेटेबल र याद आउने चिज दिन्छु भनेर मुर्ति उपहार दिएको हुँ ।’
 
मुर्ति उपहार दिएपछि पत्रकारले श्रद्धालाई सोधे- ‘तपाईंको नजरमा पुष्प कस्तो व्यक्ति ?’ जवाफमा उनले पुष्पको तारिफमा शब्द खर्चिइन् । उनले भनिन्, ‘ऊ एकदमै ‘डाउन टू अर्थ’ पर्सन हो । सेटमा पनि एनर्जी भएको, सबैसँग मिल्ने, सबैलाई एक बनाएर राख्ने, रमाइलो गर्ने स्वभावको रुपमा मैले पुष्पलाई बुझेको छु ।’ उनले पुष्पसँग चलेको प्रेम चर्चाको विषयमा भने बोल्न चाहिनन् । 
 
पुष्पले भने रेडिमेड जवाफ दिँदै आफूहरुबीच असल मित्रता मात्र रहेको बताए । ‘मिडियामा प्रेम सम्बन्धको चर्चा चलेपछि हामीबीच यो पनि हुनसक्छ कि भन्ने ध्यान चाहिँ गयो । भविष्यमा त जे पनि हुनसक्छ । तर, अहिले हामीबीच असल मित्रता छ,’ उनले भने । अहिलेसम्म काम गरेका मोडल तथा अभिनेत्रीहरुभन्दा आफू श्रद्धा क्षेत्रीसँग सबैभन्दा नजिक रहेको कुरा भने उनले स्वीकार गरे । 
 
पुष्पले ‘मंगलम’झैं ‘कृष्ण लीला’बाट पनि राष्ट्रिय अवार्डको आशा राखेका रहेछन् । उनले भने, ‘फिल्म गर्दा राष्ट्रिय अवार्डको कुनै आशा राखेको थिइनँ । तर, केही विशेष व्यक्तिले फिल्म हेरेर प्रशंसा गरेपछि एक किसिमको आशा छ । त्यही तरिकाले मुल्यांकन भएर राष्ट्रिय अवार्ड पाएँ भने त म जति भाग्यमानी को हुन्छ होला र ! दुई-दुईवटा राष्ट्रिय अवार्ड हुन्छ । यद्यपि, फिल्म राम्रो छ ।’
 
puspa and shradha
 
‘कृष्ण लीला’ गर्दा ‘मंगलम’भन्दा केही माथिको अभिनय गर्नुपर्छ भन्ने चुनौती आफूमा रहेको उनको भनाई छ । ‘मंगलम’कै नजिक-नजिक आफूले अभिनय गरेको हुनसक्ने विश्वास उनमा छ । फिल्ममा पुष्पले सुस्त मनस्थिति (अटिजम) भएको युवकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय छ ।
 
लक्ष्मण सुवेदीको लेखन, शिब ढकालको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्मका ‘ए मेरो हजुर’ र ‘कुनै दिन’ गीत अहिले चर्चामा छन् । प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् भने सह-निर्मातामा रोजन श्रेष्ठ र पिताम्बर आचार्य छन् । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।