
कोरोना महामारी साम्य भएर सिनेमा हलहरु पुरानै लयमा फर्किन थालेपछि नेपाली फिल्महरु निरन्तर प्रदर्शनमा आइरहेका छन् । कोरोनाले अड्किएका र नयाँ बनेका फिल्महरुले प्रदर्शनका लागि उपयुक्त मिति खोज्ने क्रममा नेपाली फिल्मसँगै भिडन्त गर्नुपर्ने अवस्था सृजना भएको छ । जसले गर्दा एउटै कलाकारको फिल्म समेत एउटै मितिमा वा हप्ता दिनको अन्तरमा प्रदर्शन हुँदैछन् ।
आगामी भदौमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गरेको दुई फिल्म ‘माइकल अधिकारी’ (भदौ ३) र सौगात आफैं निर्माता रहेको ‘राधा’ (भदौ १०) एक हप्ताको अन्तरमा प्रदर्शनमा आउँदैछन् । अब एउटा फिल्म हलबाट नउत्रिँदै सौगात र सृष्टिको अर्को फिल्म प्रदर्शन हुनेछ । यस्तो हुँदा दर्शकहरु त झुक्किन्छन् नै, सौगात र सृष्टिलाई समेत प्रचार गर्न समस्या पर्नेछ ।
बुधवार ‘माइकल अधिकारी’को ट्रेलर रिलिज कार्यक्रममा फिल्मको रिलिज मिलाउन किन प्रयास नगरेको भन्ने पत्रकारको प्रश्नमा सौगातले दुई फिल्म एक हप्ताको अन्तरमा रिलिज हुन लाग्दा आफू पनि दुःखी रहेको बताए । आफ्नो चाहनाले नभइ समय तथा परिस्थितिले एउटै समयमा रिलिज हुन पुगेको उनको भनाई छ । तर, उनी दुवै फिल्म राम्रो भएकाले चल्नेमा पूर्ण विश्वस्त देखिए ।
उनले भने, ‘दुईटा फिल्म सँगै नआइदियोस् भन्ने मलाई पनि लाग्छ । कथावस्तुले गर्दा ‘राधा’ तीजमै रिलिज गर्नुपर्ने भयो । ‘माइकल अधिकारी’ तीन वर्षअघि बनेकाले धेरै समय राखिराख्न मिल्दैन थियो । अनि, हलिउड र बलिउड फिल्मसँग बचेर रिलिज गर्नुपर्ने लगायतका कारणले रिलिज सँगसँगै जस्तो परेको हो । तर, म खुशी यसअर्थमा छु कि दुवै फिल्म राम्रो छन् र दर्शकलाई मनपर्छ ।’

