Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मास्टर डिग्री पूरा गर्दै मिरुनाले लण्डनमा जितिन् गोल्ड अवार्ड

फिल्मीखबर, काठमाडौं, 2022/07/21
miruna magar
 
अभिनेत्री मिरुना मगरका लागि यो वर्ष उचारचढावपूर्ण रह्यो । आफ्नो करिअरमा पहिलो पटक फिल्म ‘कबड्डी ४’बाट हिटको सुःख प्राप्त गर्दैगर्दा यही फिल्म रिलिजको बेला ‘ब्याड टच’ प्रकरणले उनलाई विवादमा पनि तान्यो । फिल्म प्रदर्शन भइरहेको समयमा लण्डन उडेकी उनले अध्ययनमा पनि महत्त्वपूर्ण सफलता हासिल गरेकी छन् । उनले लण्डनबाट मास्टर डिग्री पूरा गरेकी छन् ।
 
लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड पनि जितेको खुशी मिरुनाले इन्स्टाग्राममार्फत् साटेकी छन् । उनले बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा मास्टर डिग्री गरेकी हुन् । उनले लेखेकी छन्, ‘अनेक बाधाहरुको बावजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पूरा गर्न सकेकोमा आफूलाई गौरवान्तित महसुस गर्दछु ।’
 
उनले अगाडि लेख्छिन्, ‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा अन्ततः यो उपलब्धि हासिल भएको छ । म मेरो परिवार र साथीहरूलाई सधैं समर्थन र उत्प्रेरित गरेकोमा धन्यवाद नदिइरहँन सक्दिनँ । मेरो जीवनमा उहाँहरूलाई पाएकोमा धन्य र कृतज्ञ छु ।’ लण्डनमै हुर्किएकी मिरुनाका आमा-बुबा अझै पनि त्यही बसोबास गर्ने गर्छन् ।
 
मिरुना अभिनीत ‘कबड्डी ४’ले हलमा प्रदर्शनको ५१औं दिन मनाइसकेको छ । यो अवधिमा फिल्मले साढे २२ करोडभन्दा माथिको कमाई गर्दै नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड समेत बनाएको छ । लगातार असफलता भोगिरहेकी मिरुनालाई यो फिल्मले ठूलो राहत दिएको छ । अब उनी चाँडै नयाँ फिल्मको छायांकनका लागि लण्डनबाट नेपाल फर्किँदैछिन् ।