साउथ फिल्मका सुपरस्टार राम चरणको एउटा उदाहरण दिँदै प्रशंग सुरु गरौं । उनको दुई फिल्म ‘आरआरआर’ र ‘आचार्य’ एक महिनाको अन्तरमा प्रदर्शनमा आएका थिए । तर, ‘आरआरआर’ बक्सअफिसमा ब्लकबस्टर हुँदा ‘आचार्य’ टाँट पल्टियो । एउटै कलाकारको एउटा फिल्मले इतिहास रच्ने अनि अर्को फिल्मले घुँडा टेक्ने कसरी भयो ? स्पष्ट छ, स्टार पावरले मात्र फिल्म चल्दैन ।
अब कुरा नेपाली अभिनेत्री केकी अधिकारीको गरौं । २०७६ सालमा उनी अभिनीत फिल्म ‘छ माया छपक्कै’ प्रदर्शन भएको थियो । हिटको ग्यारेन्टी गर्ने दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण र अभिनय गरेकाले फिल्म ब्लकबस्टर भयो । एक दशक लामो करिअरमा केकीले पहिलो पटक सफलताको स्वाद चाखिन् । उनको कमजोर बनेको करिअरलाई पनि टेको मिल्यो ।
.jpg)
‘छ माया छपक्कै’को सफलतापछि केकीले अब आफ्नो बलमा पनि दर्शक हलसम्म तान्न सक्ने विश्लेषण भएको थियो । तर, यसै हप्ता प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘सिल्ली फो’लाई दर्शकले पत्याएनन् । मल्टीप्लेक्सबाट दुई दिनमै उत्रिएको फिल्म सिंगल थिएटरबाट पनि लगभग हटिसकेको छ । यो फिल्म केकीले चल्ने विश्वासमा भन्दा पनि पैसाको लोभमा गरेको बताइन्छ ।
फिल्म फ्लप भएपनि कति फिल्ममा कलाकारको अभिनय र चरित्रलाई दर्शकले रुचाउँछन् । यो पनि एक हिसाबमा कलाकारका लागि ठूलो उपलब्धि र सफलता हो । तर, ‘सेल्ली फो’ हेरेका दर्शकले केकीको अभिनय र चरित्रको प्रशंसा गर्न सकेनन् । केकी स्वयंले पनि फिल्म हेरिन् वा हेरिनन्, अत्तोपत्तो छैन । अब उनी फिल्मसँगै चरित्र छनोटमा गम्भीर हुन अत्यन्त आवश्यक देखिन्छ ।
त्यसो त, केकीभन्दा स्टारडममा धेरै अगाडि मानिएकी पूजा शर्माको ‘सिल्ली फो’सँगै प्रदर्शनमा आएको फिल्म ‘सम्झना बिर्सना’ पनि बक्सअफिसमा पानी बिनाको माछा झैं छट्पटिरहेको छ । जबकि, गत वर्ष पूजाको ‘म यस्तो गीत गाउँछु २’ हिट भएको थियो । यसबाट के बुझ्न सकिन्छ भने दर्शकहरुले कलाकारमा भन्दा पनि विश्वास जितेको सिरिज र टिमलाई मात्र पत्याउने गरेका छन् ।

