आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्कालाई दर्शकले चकलेटी अवतारमा देख्न पाउने छैनन् । यसपटक उनले आफ्नो ‘कम्फर्ट जोन’भन्दा पूरै बाहिर निस्किएर काम गरेका छन् । फिल्ममा उनले जुम्लाको जीवन बाँचेका छन् । जुन खालको चरित्र र फिल्म खेलेर प्रदीपले आफ्नो स्टारडम तिखारे, ‘प्रकाश’ त्योभन्दा अलग प्रकृतिको छ ।
सुकिलो-मुकिलो पात्रमा रुचाइएका प्रदीपको ‘प्रकाश’मा मैलो पात्र छ । त्यसखालको चरित्रमा दर्शकले उनलाई स्वीकार गर्छन् वा गर्दैनन्, प्रतिक्षाको घडी बनेको छ । त्यस चरित्रमा दर्शकले स्वीकार गरे उनको नयाँ यात्रा सुरु हुनेछ । अन्यथा, उनको स्टारडममा धक्का पुग्न सक्छ । कतिपयले निर्देशक दिनेश राउतले प्रदीपको स्टारडमलाई खुकुरीको धारमाथि राखेको विश्लेषण गरेका छन् ।
तर, निर्देशक राउत ‘प्रकाश’मा प्रदीपलाई अभिनय गराएर आफूले उसको स्टारडमलाई रिक्समा नराखेको बताउँछन् । बरु, यो फिल्मले प्रदीपको स्टारडमलाई माथि उठाउने उनको विश्वास छ । ‘उसको स्टारडम जुन खालको छ, त्यसलाई फिल्मले माथि उठाउँछ भन्ने लाग्छ । मैले त उसको राम्रैका लागि गरेको हुँ । फिल्म चल्यो भने प्रदीपसँगै मलाई पनि राम्रो हुन्छ,’ दिनेशले भने ।
निर्देशक राउतलाई ‘प्रकाश’को क्यारेक्टरमा प्रदीपलाई देखेपछि उनका दर्शकले कसरी लेलान् भन्ने डर चाहिँ मनमा रहेछ । तर, फर्स्टलुक, टिजर, गीतमा प्रदीपको लुक्सलाई दर्शकले रचाएपछि उनी ढुक्क छन् । उनले आफ्नो अघिल्लो फिल्म ‘प्रसाद’भन्दा एक स्तर माथि उठेर ‘प्रकाश’ बनाउने प्रयास गरेको पनि बताएका छन् । प्रदीप खड्कासँग दिनेश राउतको यो पहिलो सहकार्य हो ।

