.jpg)
फिल्म ‘लुट’ बनाएर नेपाली फिल्मको रुपरेखा बदलेका निर्देशक निश्चल बस्नेत २०१७ मा आएको ‘लुट’को सिक्वेलपछि निर्देशनमा फर्किएका छैनन् । गएको पाँच वर्षमा उनले केही फिल्म निर्देशन गर्न लागेको खबर बाहिर नआएको होइन । लकडाउनअघि उनी फिल्म ‘जिन्दावाद’ बनाउने अन्तिम तयारीमा समेत थिए । तर, फाइनल भइसकेको स्क्रिप्ट चित्त नबुझेपछि उनले फिल्म थन्काए ।
बरु, ‘लुट २’पछि निश्चल अभिनयमा बढी व्यस्त देखिए । यो बीचमा उनले ‘प्रसाद’, ‘घामड शेरे’, ‘दुई रुपैयाँ’ र ‘दि सिक्रेट्स अफ राधा’ फिल्मसँगै केही म्यूजिक भिडियोमा अभिनय र केही गीतमा आवाज समेत भरे । उनले फिल्म ‘प्रसाद २’मा पनि काम गर्ने सम्झौता भएको थियो । तर, पछि उनले फिल्म छाडे । अब उनी एक नयाँ फिल्ममा अभिनय गर्ने तयारीमा रहेको बताइएको छ ।
सोमवार ‘दि सिक्रेट्स अफ राधा’को गीत सार्वजनिक कार्यक्रममा निश्चललाई पत्रकारले प्रश्न गरे- ‘अब निर्देशन गर्न चट्टै छाडेको हो ?’ जवाफमा उनले नगरुन्जेललाई छाडेको प्रतिक्रिया दिए । उनले भने- ‘फिल्म निर्देशन नगरुन्जेलाई चाहिँ छाडेको हो । गर्ने बेला त गरिहाल्छु । मलाई स्क्रिप्ट जबसम्म चित्त बुझ्दैन तबसम्म म निर्देशन गर्दिनँ । निर्देशनमा ढिलाई हुनुको कारण पनि यही नै हो ।’
उनले ‘प्रसाद २’ केही चिजमा चित्त नबुझेपछि छाडेको पनि बताए । उनले फिल्म छाड्नुको स्पष्ट कारण भने खुलाएनन् । उनले यो फिल्मको टिमबीच देखिएको समस्याको बारेमा पनि आफ्नो धारणा राखे । मिडियाले चर्चाका लागि मात्र एकतर्फी समाचार बाहिर ल्याएको बताउँदै निश्चलले कहिँ खटपट भइरहेको छ भने समस्या दुईतिर रहेको बुझ्नुपर्ने र समाधान पनि दुई पक्षबाटै हुने बताए ।

