Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

पूजाप्रति ‘सम्झना बिर्सना’ निर्देशकको गुनासो- ‘२० लाख तिरेर पनि सहयोग मिलेन’

मनिष अन्जान, फिल्मीखबर, 2022/07/18
अभिनेत्री पूजा शर्माले करीब २ महिना अगाडि फिल्म ‘सम्झना बिर्सना’को एक गीत सार्वजनिक कार्यक्रममा भनेकी थिइन्, ‘यो फिल्मका लागि म सक्दो गर्छु । फिल्म हेरिसकेपछि दर्शकले मन पराउने वा मन नपराउने त्यो दोस्रो कुरा हो । तर, म मेरो फिल्मका लागि जे गर्न पनि तयार छु । म होम प्रोडक्सन र बाहिरको फिल्म भनेर कहिल्यै भन्दिनँ । म मात्र सफल हुनुपर्छ भन्ने सोच छैन, निर्माता पनि सफल हुनुपर्छ । पूजाका कारण यस्तो भयो भनेर सुन्न नपरोस् भन्ने लाग्छ ।’
 
जुन फिल्मको मञ्चमा उभिएर पूजाले आदर्शवादी कुरा गरेकी थिइन्, आज त्यही फिल्मको टिम उनीप्रति असन्तुष्ट देखिएको छ । उनले प्रचारमा पर्याप्त समय नदिएको, फिल्म प्रदर्शनको मुखमा प्रचार छाडेर म्यूजिक भिडियोमा काम गरेको, बिना जानकारी अष्ट्रेलिया उडेको, फिल्म रिलिजको समयमा अनेक विवाद निकालेको गुनासो निर्माता तथा निर्देशकको छ । निर्देशक निमेष प्रधानले पूजा शर्माको व्यवहारबाट आफू र निर्माता दु:खी भएको बताएका छन् । 
 
फिल्मीखबरसँग उनले भने- ‘हामीले फिल्म रिलिज अगाडि मोफसलमा पनि प्रचार गर्ने तयारी गरेका थियौं । तर, पूजाजीले फिल्म रिलिजपछि जानुपर्छ भनेपछि हामी चुप बस्यौं । ‘हाँस्ने खेल्ने बेलैमा’ गीत पनि उहाँले नै भनेर खिचेका हौं । तर, उहाँले प्रचारमा समेत राम्रोसँग साथ दिनुभएन । फिल्मको प्रचार भइरहँदा उहाँ चाहिँ म्यूजिक भिडियोको छायांकन गर्न नगरकोट जानुभएछ । ठीक छ, काम पनि गर्नुपर्छ । तर, म्यूजिक भिडियोको छायांकन सकिएपछि पनि उहाँ प्रचारमा हिँड्नुभएन ।’
 
निर्देशक प्रधान अगाडि भन्छन्, ‘फिल्म प्रदर्शनको दोस्रो दिन शनिवार अष्टनारायण हलमा दर्शकसँग प्रतिक्रिया बुझेपछि त्यही साँझ लबिङ मलमा पनि जाने कुरा भएको थियो । पूजाजीले ‘तपाईंहरु बस्दै गर्नुस् म आउँछु’ भन्नुभयो । हामी उहाँलाई कुरेर बस्यौं । एकैचोटी विमानस्थल पुगेपछि पो उहाँले ‘म त अष्ट्रेलिया जान लागेको’ भन्नुहुन्छ । फिल्म चल्नु र नचल्नु आफ्नो ठाउँमा छ । सबै फिल्म चल्छ भन्ने पनि छैन । तर, कलाकारको सपोर्ट पाएर नचल्नु र सपोर्ट नै नपाएर नचल्नुमा ठूलो फरक हुन्छ ।’
 
Nimesh Pradhan
 
‘सम्झना बिर्सना’मा पूजा शर्मालाई २० लाख दिएर काम गराएको निर्देशक प्रधानले खुलासा गरे । पूजाको स्टारडम होला भन्ने आधारमा पनि यति मोटो रकम तिरेको उनको भनाई छ । ‘हामीलाई पूजा र आकाशको जोडी एकदमै राम्रो लाग्यो । त्यो टाइममा उहाँहरुको जोडी चलिरहेको थियो । फिल्ममा पनि उहाँहरु फिट हुनुहुन्थ्यो । स्टोरी सुनेपछि पूजाजी काम गर्न तयार हुनुभयो । हामीले उहाँको सबै कुरा मान्यौं तर, उहाँबाट भने हामीले सहयोग पाएनौं,’ प्रधानले गुनासो गरे ।
 
फिल्म रिलिजको समयमा पूजाले कन्ट्रोभर्सी निकालेको पनि निमेषको आरोप छ । अनमोल केसीलाई फिल्म साइन गराएपछि अभिनेता पल शाहका फ्यानले उनलाई मन नपराएको र त्यसको असर फिल्ममा परेको उनी बताउँछन् । प्रधान भन्छन्, ‘पल शाह जेलबाट बाहिर नआएसम्म पूजाजीले ‘फिल्मै बनाउँदिनँ’ भन्नुभएको रहेछ । अनमोल केसीलाई साइन गराएपछि पलका फ्यानहरु उहाँसँग भड्किए । त्यसको डल्लै असर ‘सम्झना बिर्सना’लाई पर्‍यो ।’
 
शनिवार अष्टनारायण हलमा पूजा दर्शकहरुसँग झर्किएको घटनाले पनि फिल्मलाई ठूलो असर गरेको निर्देशक प्रधानको विश्लेषण छ । फिल्म हेर्न पनि जाने अनि गाली पनि खाने भन्ने प्रभाव दर्शकमा परेको बताउँदै उनले अगाडि थपे- ‘हाम्रो लागि दर्शक भगवान् हुन् । फिल्म हेरेपछि दर्शकबाट पाउने हरेक खालका प्रतिक्रिया हामीले स्वीकार गर्नुपर्छ । पूजा झर्किएपछि दर्शकमा फिल्म हेर्न पनि जाने अनि गाली पनि खाने भन्ने प्रभाव पर्‍यो । हुटिङ भनेको जसलाई जो मनपर्छ उसकै गर्ने हुन् । तर, उसलाई मन पराइस् भनेर दर्शकलाई गाली गर्न त पाइएन नी !’
 
निमेषलाई ‘सम्झना बिर्सना’ जति चलिरहेको छ त्यो फिल्मकै दमले चलिरहेको हो भन्ने लाग्छ । तर, भोलीका दिनमा पूजा शर्माले आफ्नो कारणले दुई/चार दिन फिल्म चलेको भन्न पनि बेर नलगाउने उनी बताउँछन् । ‘कलाकारले साथ दिएर फिल्म नचलेको भए हामीबाट गल्ती भएको थियो होला भनेर चित्त बुझाउने बाटो हुन्थ्यो । तर, त्यति ठूलो रकम तिरेर काम गराएको कलाकारले सहयोग नै नगर्दा चित्त दुख्दो रहेछ । कलाकारहरुको यस्तो व्यवहारले फिल्म इन्डस्ट्रीलाई पनि गाह्रो पर्छ,’ प्रधान निराश सुनिए । 
 
दार्जिलिङ मुलका निमेष एकाधबाहेक नेपाली फिल्म नेपालमै मात्र चलाएर पनि लगानी उठाउन गाह्रो रहेको बताउँछन् । तर, आफूहरु दार्जिलिङमा बसेर नेपाली फिल्मलाई साथ र सहयोग गर्न सक्ने भएपनि कलाकारहरुको यस्तो व्यवहारले बाटो नै बन्द गर्ने र नयाँ मेकरले भविष्यमा अरु फिल्म पनि नबनाउने प्रधानको भनाई छ । अभिनेता आकाश श्रेष्ठबाट प्रचार-प्रसारमा भरपूर सहयोग मिलेकोमा भने उनी सन्तुष्ट देखिए ।
 
निर्माण टिमले आकाशलाई बढी च्यापेका कारण पूजाले प्रचारमा हिँड्न खासै रुचि नदेखाएको पनि गाईंगुईं सुनिएको छ । तर, आफूहरुले कसैलाई काखा र कसैलाई पाखा नगरेको निर्देशक प्रधान स्पष्ट पार्छन् । ‘आकाशजी जतिखेर र जहाँ बोलाउँदा पनि आइदिनुहुन्छ । पूजाजी कहिले फोन उठाउनुहुन्न, फोन उठाए पनि कहाँ छु भन्नुहुन्छ । अनि, जो कलाकारले साथ दिन्छ उसैसँग प्रचारमा हिँड्ने होइन र ? पूजाजीले साथ दिनुभएको भए आज यो गुनासो गर्नुपर्ने अवस्था नै रहँदैन थियो,’ उनले भने । 
 
निमेषले फिल्मको व्यापार अपेक्षाकृत नभएपनि दर्शकबाट मिलेको प्रतिक्रियाले सन्तुष्ट रहेको बताए । यो उनको डेब्यू निर्देशित फिल्म हो । दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको फिल्मले प्रेमकथासँगै चिया बगानमा काम गर्ने कर्मचारीको समस्यालाई पनि उठाएको छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय छ ।