अभिनेत्री पूजा शर्माको विवादसँग के नाता छ कुन्नी, जे बोली पनि विवादित हुन्छ । उनको विवादसँग नंग र मासुको जस्तो सम्बन्ध छ भन्दा फरक पर्दैन । विवादले उनलाई सधैं छायाँ झैं पछ्याइरहेको छ । जसले गर्दा उनीप्रतिको दृष्टिकोणमा त परिवर्तन आएको छ नै, उनको करिअरलाई समेत धक्का पुग्दै गएको छ । उनी बोल्दा संयमित हुन नसक्नु नै विवाद जन्मनुको प्रमुख कारण हो ।
पूजा फेरि एकपटक विवादमा तानिएकी छन् । शुक्रवारबाट प्रदर्शन भएको आफू अभिनीत फिल्म ‘सम्झना बिर्सना’को प्रतिक्रिया बुझ्न शनिवार दिउँसो बालाजुमा रहेको अष्टनारायण हलमा पुग्ने क्रममा उनी दर्शकसँग झर्किएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोको सानो क्लिप्स हेरेको भर धेरैले उनमा घमण्ड, दम्भ र अहंकार बढेको भन्दै आलोचना गरेका छन् ।
पूजासँगै आकाश श्रेष्ठले अष्टनारायणमा आफूहरुलाई भेट्न सँगै फिल्म हेर्नका आगि आउन दर्शकहरुलाई सामाजिक सञ्जालमार्फत् आग्रह गरेका थिए । दुवैका फ्यानहरु फूलमाला र खादा नै बोकेर हल पुगे । पूजा र आकाश हलको प्रांगणमा पुगेपछि दुवैका आ-आफ्ना फ्यानहरुले उनीहरुलाई फूलमाला र खादा ओडाएर अनुहार पुरिदिए । र, दुवैका फ्यानहरुले छुट्टा-छुट्टै नारा समेत लगाए ।
.jpg)
पूजा र आकाश एकअर्कासँग नजिक हुँदा उनीहरुका फ्यानहरु एक ढिक्का थिए । जब उनीहरुले व्यवसायिक सम्बन्ध मात्र बाँकी राखे, त्यसपछि दुवैका फ्यानहरु पनि विभाजित भए । हलमा पनि उनीहरुको फ्यान विभाजित भएको दृश्य स्पष्ट देखिन्थ्यो । अष्टनारायण हलको एउटा कुनामा आकाशको पक्षमा नारा लागेको थियो भने अर्को कुनामा पूजाको पक्षमा नारा घन्किएको थियो ।
आकाश र पूजा आफ्नो पक्षमा लागेको नाराको प्रवाह नगरी दर्शकहरुसँग सेल्फी खिच्न व्यस्त थिए । त्यसैक्रममा, पूजा र आकाश एकसाथ उभिएको ठाउँमा आएर एकहुल आकाशका फ्यानहरुले ठूलो र चिड्याउने हिसाबले ‘आकाश...आकाश’ भनेर नारा लगाए । पूजाको रिसको पारो चढ्यो । उनले दर्शकलाई झर्किँदै भनिन्, ‘के हो यो ? फिल्म कसको ? दुइटैको हो । के गरेको यो ?’
पूजा झर्किएपछि आकाशले फ्यानहरुलाई ‘सबैलाई सम्मान गर्नुपर्छ’ भन्दै सम्झाए । त्यसपछि पूजा आकाशको फ्यानहरुको घेराबाट रिसाउँदै बाहिर निस्किइन् । तर, त्यो अवस्थामा पूजा दर्शकसँग झर्किनुभन्दा पनि संयमित हुनु पर्थ्यो । ‘काँडाको झटारो फूलले हान्नुपर्छ’ भन्ने कुरा मनन् नगर्दा उनी दर्शकहरुसँग झर्किन पुगिन् । एउटा कलाकारले दर्शकलाई गर्ने व्यवहार यो पटक्कै होइन ।
दर्शकलाई हप्काएपछि पूजाले आकाशको साथमा सञ्चारकर्मीहरुलाई भिडियो अन्तर्वार्ता दिइन् । त्यसबेला एक पत्रकारले दुवैलाई सोधे- ‘तपाईंहरुबीचको दरारले फिल्मलाई असर गरेको छ भन्ने लाग्छ ?’ यो प्रश्नमा पूजाको अनुहार रात्तोपिरो भयो । जवाफमा उनले ‘खोइ थाहा छैन’ मात्र भनिन् । आकाशले भने कहिल्यै पनि आफूहरुले सम्बन्ध यस्तो छ र उस्तो छ भनेर नभनेको बताए ।
‘सम्झना बिर्सना’मा काम गर्ने क्रममा पूजा र आकाश हदै नजिक थिए । तर, फिल्म रिलिजको समयमा उनीहरु दुई ध्रुव भइसकेका थिए । कागजी सम्झौतामा बाँधिएकाले मात्र उनीहरुले फिल्मको प्रचार एकसाथ गरे । तर, रिलिजको अन्तिम समयमा आकाश एक्लै प्रचारमा हिँडेका थिए । त्यसैले होला, शनिवार अष्टनारायणमा पनि पूजाभन्दा आकाशकै फ्यानहरुको संख्या बढी देखिन्थ्यो ।

