Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

जब प्रदीपलाई लाग्यो ‘प्रकाश’मा काम गर्न सकिन्न...

फिल्मीखबर, काठमाडौं, 2022/07/16
अन्जान दाहाल । चकलेटी अवतारमा रुचाइएका अभिनेता प्रदीप खड्का भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’मा भिन्न चरित्रमा प्रस्तुत छन् । अझ भनौं, उनी आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएका छन् । उनको ‘कम्फर्ट जोन’ त हिरोइनसँग रोमान्स गर्ने, विछोड भएपछि रुँदै सिरानी भिजाउने, दुई-चारजना गुन्डाहरुलाई बाङबुङ हिर्काएर हिरोइन पट्याउने खालको हो ।
 
तर, ‘प्रकाश’मा न उनको हिरोइज्म देखिनेछ न चकलेटी अवतार । जुम्लाको एक विपन्न युवकको भूमिकामा अभिनय गरेका उनले चरित्रलाई आत्मसात् गर्न खाली खुट्टा काठमाडौंको गल्ली नापे । तौल घटाए । अनुप बरालबाट अभिनय सिके । सुटिङको क्रममा चरित्रको माग बमोजिम जीवनमा पहिलो पटक हलो जोते । प्रदीप फिल्म र चरित्रप्रति कति गम्भीर थिए भन्ने कुरा यी प्रमाण हुन् ।
 
तर, फिल्मको आइडिया सुनेर काम गर्न तयार भएका उनी स्क्रिप्ट पढेपछि भने काम गर्न सकिन्न कि भन्ने सोचमा पुगेका रहेछन् । शुक्रवार चितवनमा पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले भने- ‘पहिला आइडिया हेर्दा मनपर्‍यो र गर्छु भनेँ तर, स्क्रिप्ट पढेपछि जुम्लेली भाषा बोल्नुपर्ने, जुम्लाकै जस्तो क्यारेक्टर हुनुपर्ने भएकाले मैले सकिनँ भने के हुन्छ भनेर निर्देशकसँग कुरा गरेको थिएँ ।’ 
 
pradeep khadka
 
आफूलाई फेल हुन डर नभएपनि सोचे जस्तो काम गर्न नसके निर्देशक, निर्माता र लेखकको सोच नै डुब्ने भएकाले ‘काम नगरुँ कि’ भनेर निर्देशक दिनेश राउतसँग सल्लाह गरेको उनी स्मरण गर्छन् । तर, आफूमाथि निर्देशकको कन्फिडेन्टले काम गर्न हिम्मत आएको उनको भनाई छ । उनी ‘प्रकाश’मा आफू काम गर्न राजी हुनुको एउटा ठूलो कारण निर्देशकको कन्फिडेन्टलाई मान्छन् । 
 
प्रदीप अगाडि भन्छन्, ‘मैले छोड्दा सन्देश राम्रो जाँदैन भने ‘प्रदीपलाई सुहाउने क्यारेक्टर नभएकाले निकालेर अर्को क्यारेक्टर लियौं’ भन्दा पनि मलाई समस्या छैन भनेर निर्देशकलाई भनेको थिएँ । तर, ममाथि सबैभन्दा कन्फिडेन्ट दिनेश दाई हुनुहुन्थ्यो । उहाँले तिमीले सक्छौं बरु आफूलाई निखार्न अनुप बराल सरसँग क्लास लिऊ भनेपछि मलाई फिल्ममा काम गर्न हिम्मत आयो ।’ 
 
प्रदीपलाई ‘प्रकाश’को वानलाइन स्टोरी नै एकदमै मन परेको रहेछ । तर, त्यसबेलासम्म कथा कस्तो बन्छ र क्यारेक्टर के हो भन्ने केही टुंगो थिएन । तर, लेखकले सुनाएको कथाले उनलाई भविष्य आँखा अगाडि देखेको महशुस भयो । नेपालको अहिलेको व्यवस्थाले भविष्यमा समस्या ल्याउन सक्छ भन्ने कुरा फिल्मले देखाउँदैछ भने आफूले काम गर्नुपर्छ भन्ने लागेको उनी सम्झन्छन् ।
 
‘एउटा साहित्यकारले कुनै जमानामा लेखेको चिज आज सार्थक भइरहेको छ । कला क्षेत्रमा काम गर्ने व्यक्तिको हैसियतले मैले गर्ने चिजले ‘फ्यूचर प्रिडिक्सन’ गर्छ भने त्योभन्दा गतिलो चिज केही हुन्छ जस्तो लागेन,’ उनले अगाडि भने, ‘मैले गर्ने फिल्मले नेपालको यो व्यवस्थाले भविष्यमा समस्या ल्याउन सक्छ भन्ने देखाउने फिल्मको टिम पाउँदैछु भने म काम गर्न तयार हुनुपर्छ भन्ने लाग्यो ।’ 
 
आफूले गरिरहेको फिल्मभन्दा अर्कै खालको फिल्म रुचाउने पनि दर्शक छन् र त्यो दर्शकलाई नेपाली फिल्मप्रति आकर्षित गर्नुपर्छ भन्ने भएपछि आफूले कलाकार बन्ने प्रयासमा गरेको पनि प्रदीप बताउँछन् । ‘मैले पहिला गरेका फिल्ममा गुदी नै नभएको भन्ने प्रतिक्रिया धेरै आउँथ्यो । त्यसपछि मैले अठोट लिएँ आजसम्म हिरो बन्न प्रयास गरेँ, अब कलाकार बन्ने प्रयास गर्छु,’ प्रदीप सुनिए । 
 
उनी ‘प्रकाश’मा नेपालीपन दिएको भएपनि निन्द्रा लाग्ने फिल्म नभएको बताउँछन् । ‘नोभेम्बर रेन’, ‘प्रसाद’ जस्तो फिल्मको निर्देशक र ‘प्रेमगीत’ जस्तो फिल्म खेलेको कलाकारले काम गरेकाले फिल्म कमर्शियल रहेको उनको दाबी छ । ‘नेपालीपन बोकेको फिल्म भनेपछि बोरिङ हुन्छ भन्ने नसोचौं । ‘प्रकाश’ पूर्ण कमर्शियल फिल्म हो । मात्र ब्याकड्रप र सेटअप हाम्रोपन हो,’ उनले स्पष्ट पारे ।