कलाकार, निर्देशक तथा निर्माता नवल खड्काले नेपाल-भारतको सीमानामा काँडेतार लगाउनु पर्ने प्रस्तावसहित फिल्म ‘काँडेतार’ निर्माण गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच विद्यार्थी नेताहरुसँग छलफल गर्ने क्रममा उनले नेपालका लागि खुला सीमाना अत्यन्त घातक रहेकाले फिल्मको माध्यमबाट काँडेतार लगाउनु पर्ने प्रस्ताव अगाडि सारेको बताए ।
फिल्ममार्फत् राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेको बताउँदै सीमामा काँडेतार अभियानका संयोजक समेत कलाकार खड्काले भने- ‘मुलुकमा देशभक्ति भावनाका फिल्महरु रक्षात्मक स्थितिमा पुगेको छ र बजारिया फिल्मको कारण परिस्थिति जटिल बनेको छ । हलिउड र बलिउडले फिल्मको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले बुझ्न नसक्नु दुखद् कुरा हो ।’

अनेरास्ववियू अध्यक्ष सुनिता बरालले फिल्मले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन रहने बताइन् । उनले भनिन, ‘सीमाको कारण जमिन गुमाउनेको आँशु मैले देखेकी छु । राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्छ ।’ नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काँडेतार अभियान कुनै दल विशेषको मुद्दा नभइ देशको मुद्दा रहेकाले सबैले समर्थन गर्नुपर्ने धारणा राखे ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बाह्य शक्तिले नेपाललाई खेल मैदान बनाउन चाहेको र त्यसको प्रतिरोध गर्न काँडेतार अभियान प्रभावकारी हुने बताइन् । यो अभियानमा संगठनले सघाउने पनि उनले प्रतिवद्धता जनाइन् । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राष्ट्रियताको सवालमा सबै पक्ष एक ढिक्का हुनुपर्ने र काँडेतार अभियानमा संगठनको समर्थन रहने बताए ।
त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले फिल्मले गरेको काँडेतार प्रस्ताव जनतासामु आएको र यसको निर्णय जनताले गर्ने बताए । नवल स्वयंले निर्देशन गरेको ‘काँडेतार’मा उनीसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादब, मुरलीधर, प्रेम सुब्बा लगायतको अभिनय छ । गत महिना सार्वजनिक भएको फिल्मको टिजरले दर्शकको मन जितेको छ ।

