विकास गिरीको डेब्यू निर्देशनमा फिल्म ‘बिजुली : च्याप्टर एक’ निर्माण हुने भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमका बीच फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरियो । निर्देशक गिरीकै लेखन रहेको फिल्मको निर्माता लुना केसी हुन् । फिल्ममा मुकुन भुषाल, बेनिशा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छानिने निर्देशक गिरीले बताए ।

निर्माण टिमले फिल्मको औपचारिक घोषणा गर्दै सार्वजनिक गरेको फर्स्टलुकमा मुकुन महिलाको अवतारमा प्रस्तुत छन् । उनी फिल्ममा ट्रान्सजेन्डरको भूमिकामा देखिने पोस्टरबाट आँकलन गर्न सकिन्छ । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा हिन्दूहरुको महान तीन धर्मग्रन्थहरु रामायण, महाभारत र भागवद् गीताका चरित्रहरुलाई समेटिने निर्देशक गिरीले जानकारी दिए ।
क्रियटिभ प्रोडूसर केदार भुसाल रहने फिल्मको छायांकन आगामी भदौ तेस्रो साताबाट सुरु गर्ने तयारीमा निर्माण टिम छ । हरि घले लामाले छायांकन गर्ने फिल्म सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्ने र फिल्मको दोस्रो भाग पनि निर्माण हुने बताइएको छ । फिल्मको कथाअनुसार आफ्नो भूमिकाको लागि आफूले अत्याधिक मेहनत गर्नुपर्ने अभिनेता भुषालले बताए ।
.jpg)
सोसल ड्रामा तथा सस्पेन्स कमेडी जनराको फिल्मले नेपाली दर्शकलाई एउटा फरक स्वाद दिने क्रियटिभ प्रोडूसर केदार भुसालले बताए । त्यस्तै, अभिनेत्री हमालले नयाँ र जोश-जाँगरसहित केही गर्ने सपना बोकेको टिमसँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन् । फिल्ममा एसोसियट निर्देशक आयुष बिसी, मुख्य सहायक निर्देशक शंकर धिताल, प्रोडक्सन म्यानेजरमा नेत्र विष्ट रहेका छन् ।

