Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’को लफडा स्टोरी बोर्ड कि पारिश्रमिक ?

मनिष अन्जान, काठमाडौं, 2022/07/15
prasad 2
 
फाइल तस्विर : फिल्मको घोषणा सभामा कलाकारदेखि निर्देशकसम्म
 
कुकुर र विरालो मिलेर बस्न सक्दैनन् भनिन्छ । हो पनि, यी जनावरहरु एकसाथ भए भने सानोतिनो युद्ध नै हुन्छ । पछिल्लो समय नेपाली कलाकार र निर्माता-निर्देशकले पनि कुकुर र विरालोको स्वभाव जस्तै एकअर्कासँग मिल्न नसक्ने उदाहरण पेश गरिरहेका छन् । यसको तात्तातो उदाहरणको रुपमा फिल्म ‘प्रसाद २’लाई लिन सकिन्छ । दुई हप्ता लामो वर्कसपपछि पहिलो सिन खिच्ने बेला टिमभित्र लफडा उत्पन्न भएपछि फिल्मको छायांकन नै स्थगन भएको छ । 
 
बुधवार निर्देशक सुदर्शन थापा कास्कीको ल्वाङ गाउँमा छायाँकार राजेश श्रेष्ठको साथमा क्यामेरा ‘अन’ गरेर ‘टेक’ लिन तयार हुँदा कलाकारहरु छायांकन गर्न तयारै भएनन् । त्यसपछि के चाहियो र ! छायांकन स्थल तनावग्रस्त बन्यो । केहीबेर कलाकार र निर्माता-निर्देशकबीचको चर्काचर्कीपछि निर्माण टिमले सहमतिमा अनिश्चितकालका लागि फिल्मको छायांकन स्थगन गर्‍यो र बिहीवार झोलीझाम्टा बोकेर काठमाडौं फर्कियो ।
 
टिमभित्र उत्पन्न मनमुटावका कारण छायांकन रोकिएपछि कलाकारदेखि निर्मातासम्मको मिडियामा अलग-अलग अभिव्यक्ति आइरहेको छ । निर्देशक सुदर्शन थापाले अन्तिम समयमा कलाकारले विभिन्न कारण देखाउँदै तीव्र असहयोग गरेको बताएका छन् भने अभिनेता विपिन कार्कीले स्टोरी बोर्ड र मूड बोर्ड बिना काम नगर्ने बताएपछि छायांकन स्थगन गर्नुपरेको भनाई निर्माता सुभाष थापाको छ । 
 
उता, विपिनले भने सहमति अनुसार पारिश्रमिक नपाएकोले काम गर्न तयार नभएको बताएका छन् । सुटिङअघि पाउनु पर्ने एड्भान्स रकम छायांकनका लागि निस्किएको १७ दिन पुग्दासम्म पनि पाउने छाँटकाँट नदेखिएपछि काम गर्न नसक्ने जानकारी निर्माता र निर्देशकलाई गराएको उनको भनाई छ । वर्कसपमा स्क्रिप्टमाथि पर्याप्त छलफल नभएकाले फिल्म कस्तो बन्छ भन्ने बुझ्न आफूले स्टोरी बोर्ड पनि मागेको उनी बताउँछन् ।
 
विपिनले त सुभाष थापाको कम्पनीबाट फिल्म निर्माण भए अब कामै नगर्ने समेत बताएका छन् । सुटिङस्थलमै अर्का निर्माता केशव पाण्डेको ब्यानरमा फिल्म निर्माण हुने र पारिश्रमिक पाण्डेबाटै पाउने सहमति भएपनि कानुनी प्रक्रियाले गर्दा विश्वस्त हुने अवस्था नभएपछि छायांकन गर्न नसकेको विपिनको भनाई छ । बुझिए अनुसार, निर्माता पाण्डेको ब्यानर दर्ता भएको छैन ।
 
lokmani sapkota
 
सिन दिन तयार अवस्थामा कलाकार लोकमणि सापकोटा
 
फिल्मको टिमका एक सदस्यले भने पारिश्रमिकको लफडाले छायांकन स्थगन नभएको बताए । विपिनले मिडियामा कलाकार लोकमणि सापकोटा अचानक विरामी भएका कारण पनि छायांकन रोकिएको बताएका छन् । तर, सापकोटा मेकअप र चरित्रअनुसार दौरा-सुरुवाल लगाएर आफ्नो सिन दिन तयार भएको तस्विर फिल्मीखबरलाई प्राप्त भएको छ । तस्विरमा उनी खुशी मुद्रामा देखिन्छन् ।
 
फिल्मका ती सदस्यले फिल्मीखबरलाई भने- ‘छायांकनका लागि क्यामेरा ‘अन’ भइसकेको थियो । नम्रता श्रेष्ठजीको मेकअप भइरहेको थियो । त्यसैबेला विपिन कार्कीजीले निर्देशक सुदर्शन थापासँग स्टोरी बोर्ड माग्नु भयो । सुदर्शनजीले ‘मैले २० वर्षको अवधिमा कहिल्यै स्टोरी बोर्डमा काम गरेको छैन’ भन्नु भएपछि विपिनजीले ‘स्टोरी बोर्ड बिना काम गर्न सक्दिनँ’ भन्नुभयो । भएको यत्ति हो ।’ 
 
ती सदस्यका अनुसार, सेटमा विपिन कार्कीले पारिश्रमिकको कुरै उठाएका थिएनन् । अभिनेता कार्कीले पटक-पटक स्टोरी बोर्ड बिना कामै नगर्ने अडान लिएपछि निर्माताले सहमतिमै छायांकन स्थगन गरेको उनले बताए । छायांकन स्थगन गर्ने निर्णयपछि बुधवार दिउँसो विपिन कार्कीले छायाँकार (राजेश श्रेष्ठ) लाई भेटेर ‘जे भयो भयो अब भोली (बिहीवार) बाट छायांकन थालौं’ भनेर आग्रह गरेको ती सदस्य बताउँछन् । 
 
उनले अगाडि भने- ‘विपिनजी छायांकन गर्न तयार भएपछि बिहीवारबाट फेरि फिल्मको छायांकन थाल्न टिम तयार भयो । तर, भोलीपल्ट विहानै उहाँले ‘म त काठमाडौं जानुपर्नेछ’ भनेपछि निर्माताहरुले नै दिक्क भएर छायांकन स्थगन गरेका हुन् ।’ उनका अनुसार, अभिनेत्री नम्रता श्रेष्ठ भने छायांकनका लागि तयार थिइन् । नम्रताबाट टिमलाई कुनै खालको असहयोग नभएको उनले स्पष्ट पारेका छन् ।
 
फिल्मका ती सदस्य अरु कोही व्यक्तिले गेम खेलेको हुनसक्ने आशंका व्यक्त गर्छन् । ‘वर्कसपमा निर्देशकले ‘सट ब्रेक’ गर्दै नमिलेको ठाउँमा सुधार गरेर छायांकन गर्ने कुरा गर्दा विपिनजी तयार देखिनुभएको थियो । अन्तिम समयमा स्टोरी बोर्ड मागेपछि हामी सबै अचम्ममा पर्‍यौं । स्टोरी बोर्ड तत्काल बन्ने कुरा थिएन, त्यसैले छायांकन नै स्थगन गर्न निर्माता बाध्य हुनुपर्‍यो । मलाई त कसैले टिम फुटाउन गेम खेल्यो कि जस्तो लाग्छ,’ उनले भने ।
 
कोरोना महामारीभन्दा अगावैदेखि ‘प्रसाद २’को काम सुरु भएको थियो । यो बीचमा कहिले निर्देशक त कहिले कलाकार परिवर्तन भए । जेनतेन सबै कुरा मिलाएर निर्माताले दुई हप्ता गाउँमा कलाकारहरुलाई वर्कसप गराए । कलाकार तथा प्राविधिकलाई दिएको एड्भान्ससहित फिल्मको घोषणादेखि वर्कसपसम्म निर्माताको करिब ७५ लाख खर्च भइसकेको जानकारी प्राप्त छ ।