
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रेमकथानक फिल्म ‘कृष्ण लीला’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । बिहीवार डिआर मुभिजको यूट्युब च्यानलबाट सार्वजनिक भएको २ मिनेट ५५ सेकेन्ड लम्बाईको ट्रेलरमा फिल्मका दुई पात्र कृष्ण (पुष्प खड्का) र लीला (श्रद्धा क्षेत्री) बीचको प्रेम र विछोडको कथालाई देखाइएको छ । ट्रेलरमा पुष्प अटिजम क्यारेक्टरमा प्रस्तुत छन् ।
एउटा सपना बोकेर हिँडेकी युवतीको सुस्त मनस्थिति भएको युवकसँग माया बसेपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याएको छ । ट्रेलरको अन्तिममा श्रद्धालाई प्रहरीको भूमिकामा देख्न सकिन्छ । ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता जगाउन सफल छ । फिल्म ‘मंगलम’पछि पुष्प सशक्त चरित्र र अभिनयसहित ‘कृष्ण लीला’मा देखिन लागेको ट्रेलरले संकेत गर्छ ।
बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको यस फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको लेखन, माइकल चन्द र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । दीपक वलीले निर्देशन गरेको फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।
रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । उमेरले बढी भए पनि शारीरिक रुपमा कमजोर भएको चरित्रमा अभिनय गरेका कारण दर्शकलाई आफ्नो क्यारेक्टर फरक लाग्ने पुष्पको विश्वास छ । यसअघि ‘मंगलम’मा उनले प्यारालाइसिस भएको युवकको भूमिका निर्वाह गरेका थिए ।

