बुधवारबाट फिल्म ‘प्रसाद २’को छायांकन सुरु हुँदै थियो । कास्कीको ल्वाङ गाउँमा फिल्मको मुहूर्त गरियो र निर्देशक सुदर्शन थापा कलाकारको ‘टेक’ लिन तयार भए । छायाँकार राजेश श्रेष्ठले क्यामेरा ‘अन’ गरे । तर, मेकअप समेत गरिसकेका कलाकारहरु ‘टेक’ दिन तयार भएनन् । अभिनेता विपिन कार्कीले स्टोरी बोर्ड र मूड बोर्ड बिना काम नगर्ने अडान लिएपछि निर्देशक सुदर्शन थापासँग केहीबेर ठूलै चर्काचर्की भयो ।
अभिनेत्री नम्रता श्रेष्ठले पनि छायांकन गर्ने मूड नदेखाएपछि कलाकार, निर्देशक र निर्माताले सहमतिमै फिल्मको छायांकन अनिश्चितकालका लागि पोस्टपोन्ड गरेका छन् । बिहीवार फिल्मको टिम छायांकन रोकेर काठमाडौं फर्किएको छ । कलाकारको मूडका लागि केही दिन छायांकन पोस्टपोन्ड गरेको निर्माता सुभाष थापाले जानकारी दिए । उनले भने- ‘स्टोरी बोर्ड लगायत तयार गर्न केही दिन लाग्ने भएपछि छायांकन रोकेका हौं । सबै कुरामा सहमति भएपछि छायांकन थाल्नेछौं ।’

विपिन कार्कीले अहिलेसम्म आफूले स्टोरी बोर्ड बिना फिल्ममा कामै नगरेकोले स्टोरी बोर्ड चाहिने माग गरेको निर्माता थापाको भनाई छ । स्टोरी बोर्ड तयार गर्न समय लाग्ने भएकाले त्यसबेलासम्म ६० जनाको टिम गाउँमा राख्न नसकिने भएपछि छायांकन स्थगन गरेर काठमाडौं फर्किएको उनले बताए । केही दिनमा सम्पूर्ण टिमबीच छलफलको वातावरण मिलाउने उनको तयारी छ । कलाकार तयार भएपछि जुनसुकै बेला छायांकन सुरु हुनसक्ने उनी बताउँछन् ।
‘प्रसाद २’ले छायांकन सुरु हुनुभन्दा अगावैदेखि विभिन्न आरोह-अवरोहको सामना गर्नुपरेको थियो । पहिला निर्देशकमा सौरभ चौधरी फाइनल थिए । पछि उनले हात झिकेपछि सुदर्शन भित्रिए । उनी निर्देशकमा भित्रिए लगत्तै अभिनेता निश्चल बस्नेतले हात झिके र उनको ठाउँमा अर्पण थापा भित्रिए । सबै कुरा मिलाएर निर्माताले फिल्मको घोषणासँगै कलाकारलाई दुई हप्ता वर्कसप समेत गराए । तर, अन्तिममा सेटमै रहेका कलाकारले स्टोरी बोर्ड मागेपछि फिल्मको छायांकन रोकिएको छ । जसले गर्दा निर्माताको लाखौं रुपैयाँ बालुवामा पानी झैं भएको छ ।
२०७५ सालमा प्रदर्शन भएको फिल्म ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’ निर्माण हुन लागेको हो । फिल्मको चरित्रमा डुब्न विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा लगायतले ल्वाङ गाउँमा बसेर त्यहाँको जनजीवन नजिकबाट निहालेका थिए । वर्कसप गर्दासम्म स्टोरी बोर्डको खोजी नगरेका विपिनले क्यामेरा ‘अन’ भएपछि स्टोरी बोर्ड बिना काम नगर्ने अडान लिनुलाई धेरैले उनको नियतमाथि प्रश्न उठाएका छन् । उनले यसअघि निर्मातालाई पारिश्रमिक बढाउन दबाब दिएको खबर समेत बाहिर आएको थियो ।
सुशील पौडेलको लेखन रहेको फिल्ममा राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायत पनि कलाकारको रुपमा छन् । फिल्म निर्माणमा सुभाष थापाले केशव पाण्डेसँग सहकार्य गरेका छन् । कलाकारको व्यवहारले दुवै निर्माता निराश देखिएका छन् । छायांकन रोकिएपछि ल्वाङ गाउँबाट कलाकार, निर्माता र निर्देशक सबै बेग्ला-बेग्लै गरी काठमाडौं फर्किरहेका छन् ।

