Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाजिरलाई राहत : समुन्द्रको ‘गुलाबी’मा अनुबन्ध

फिल्मीखबर, काठमाडौं, 2022/07/14
najir husen
 
फिल्म ‘होस्टेल रिर्टन्स’मा मधेशी चरित्रमा उम्दा अभिनय गरेपछि चर्चामा आएका अभिनेता नाजिर हुसेनले त्यसपछि हातमा आएका कुनै फिल्म छाडेनन् । केही फिल्ममा लिड रोलमा देखिए भने प्रायः फिल्ममा सहायक चरित्रमा काम गरे । तर, पछिल्लो पटक ठूलो आश गरेको फिल्म ‘वीर विक्रम २’ पत्तासाफ भएपछि केही हच्किएका उनले कोभिडयता नयाँ फिल्ममा काम गरेका छैनन् । 
 
‘हुतुहु’, ‘चिलगाडी’ जस्ता फिल्म साइन गरे पनि ती फिल्मको निर्माण अन्योल हुँदा नाजिरले म्यूजिक भिडियोमा अभिनय गरेरै चित्त बुझाए । तर, उनी हालै एक नयाँ फिल्ममा अनुबन्ध भएका छन् । महिला निर्देशक समुन्द्र भट्टले आफ्नो नयाँ फिल्म ‘गुलाबी’मा उनलाई अनुबन्ध गरेकी हुन् । आगामी भदौ तेस्रो साताबाट छायांकन जाने यो फिल्म साइन गरेसँगै नाजिरलाई राहत मिलेको छ । 
 
‘गुलाबी’मा नाजिरले अहिलेसम्मकै चुनौतीपूर्ण निर्वाह गर्दैछन् । पारलैङ्गिक (फरक लैङ्गिक पहिचान भएको व्यक्ति) कथामा निर्माण हुन लागेको फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गर्ने बताइएको छ । यसका लागि उनले १५ केजी तौल घटाउनु पर्नेछ । केही महिनादेखि तौल घटाउन उनले मेहेनत गरिरहेको निर्देशक भट्टले बताइन् । नाजिरले तौल घटाएर ५० केजी बनाउनुपर्नेछ ।  
 
नाजिरसँगै फिल्मका लागि कलाकार विशाल पहाडीसँग पनि कागजी सम्झौता भइसकेको छ । केही कलाकार अडिसनबाट छनोट गर्ने तयारीमा निर्देशक भट्ट छिन् । फिल्मलाई आलोक शुक्लाले खिच्नेछन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको छ । समुन्द्रले यसअघि फिल्म ‘आधा पेज’को निर्देशन गरेकी थिइन् ।