.jpg)
कोरोना महामारीको समयमा सार्वजनिक भएको ‘फूलबुट्टे सारी’ गीतले यदी कसैलाई सबैभन्दा बढी फाइदा मिल्यो भने त्यो मलिका महतलाई हो । यो गीतमा अभिनय गर्नुअघि उनी गुमनाम जस्तै थिइन् । न मिडियामा खासै चर्चा हुन्थ्यो न हातमा प्रशस्त काम थियो । तर, ‘फूलबुट्टे सारी’ गीतमा अभिनेता पल शाहसँग केमेस्ट्री र सुन्दरतालाई दर्शकले सर्वाधिक रुचाउँदा मलिकाको भाग्य बल्यो ।
लकडाउनकै समयमा सार्वजनिक भएको अर्को गीत ‘टाढा भएपनि’ले उनलाई थप उचाईं दिलायो । त्यसपछि त उनले करिअर फर्केर हेर्नुपरेको छैन । न हातमा म्यूजिक भिडियोको कमी छ न फिल्मको अफर टुटेको छ । उनलाई सुपरहिट फिल्म ‘नाईं नभन्नू ल’को पाँचौं श्रृंखलाबाट समेत अफर पुगेको थियो । तर, अब निर्माण टिमले उनको सट्टा अभिनेत्री आँचल शर्मालाई भित्राएको छ ।
कोरोना महामारीको समयमा सार्वजनिक भएका दुई गीतले दर्शकमाझ चिनाएका कारण धेरैले उनलाई म्यूजिक भिडियोकी मोडल भन्ने गरेका छन् । जसले गर्दा उनको अभिनेत्रीको परिचय नै छाँयामा पर्न थालेको छ । उनले फिल्म ‘यात्रा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । भलै फिल्म चलेन । अब उनी अभिनीत नयाँ फिल्म ‘पानीफोटो’ आगामी साउन १३ गतेबाट प्रदर्शन हुँदैछ ।
तर, मलिका आफूलाई फिल्मभन्दा म्यूजिक भिडियोबाट चिन्दा पनि कुनै चित्तदुखाई नभएको बताउँछिन् । मंगलवार ‘पानीफोटो’को ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, ‘भिडियोबाट आएको हो भन्दा त्यस्तो असर त गरेको छैन । तर, मैले ‘यात्रा’ फिल्म गरेको भन्ने कुरा छुटिरहेको पाउँछु । आजभोली म्यूजिक भिडियोमा बढी काम गरिरहेकाले त्यसबाट चिन्दा पनि चित्तदुखाई चाहिँ छैन ।’

