Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

दर्शक हँसाउन ‘प्रकाश’ले ६ शहरमा कमेडी टूर गर्दै

फिल्मीखबर, काठमाडौं, 2022/07/13
कुनै समय गाउँ-घरदेखि शहरसम्म माइकिङ र भित्ताहरुमा पोस्टर टाँसेर फिल्म प्रदर्शनको जानकारी गराइन्थ्यो । यत्तिको भरमा पनि फिल्म हेर्न दर्शकहरु हलसम्म ओइरिन्थे । तर, अहिले जमाना फेरिएको छ । माइकिङ वा पोस्टर टाँसेर हलसम्म दर्शक तान्न लगभग असम्भव छ । गतिलोसँग र फरक शैलीमा प्रचार गर्न सकिएन भने फिल्म हलमा लागेको र उत्रेको समेत अत्तोपत्तो हुँदैन । 
 
फिल्मलाई दर्शकसम्म पुर्‍याउन प्रचार गतिलो चाहिन्छ भन्ने राम्रोसँग बुझेका अभिनेता हुन्, प्रदीप खड्का । त्यसैले उनी अभिनीत फिल्मको प्रमोशन केही विशेष र भव्य हुन्छ । फिल्म ‘प्रेमगीत २’ यता प्रदीपका हरेक फिल्मको देशका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम हुँदै आएको छ । जसले कलाकारलाई दर्शकसँग जोड्न मात्र सघाएन, फिल्मको व्यापारमा पनि धेरथोर फाइदा पुग्यो ।
 
Praksh-Sandup Comedy
 
अब प्रदीप अभिनीत फिल्म ‘प्रकाश’ आगामी भदौ १० गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्म उनले गर्दै आएका नियमित फिल्मभन्दा फरक छ । त्यसैले फिल्मको प्रचार बलियो बनाउन प्रदीप आफैं अग्रसर देखिएका छन् । तर, यसपटक फिल्मको प्रचारका लागि सांगीतिक कार्यक्रम नभइ कमेडी टूर आयोजना गरिँदैछ । ‘प्रकाश’ले देशका ६ शहरमा ‘स्ट्यान्डअप कमेडी टूर’ गर्न लागेको हो ।
 
चर्चित युवा कमेडियनहरुको साथमा हुने टूर असार ३१ गते चितवनको भरतपुरबाट सुरु हुँदैछ भने भाद्र ५ गते काठमाडौंमा आएर टुङ्गिने छ । निर्माण पक्षले दिएको जानकारी अनुसार, असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ बिराटनगर, श्रावण २७ र २८ हेटौंडामा र भाद्र ३, ४ र ५ गते काठमाडौंका तीन ठाउँमा टूर हुनेछ । 
 
फिल्मले प्रमोशनल टूरका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो । ‘टेबल मुनीबाट’ नाम दिइएको कमेडी टूरमा फिल्मका अभिनेता प्रदीप खड्कासहित अन्य कलाकार र कमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् । टूरमा प्रवेश निःशुल्क गरिएको फिल्मका निर्देशक दिनेश राउतले जानकारी दिए । 
 
फिल्ममा प्रदीपसँगै दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रमा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ ।