Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

ऋतिकमाथि विश्वास : चार फिल्ममा झन्डै ९ सय करोड लगानी !

एजेन्सी, मुम्बई, 2022/07/13
Hrithik Roshan to be seen in these four upcoming movies, know the budget of these movies
 
सन् २००० मा आएको फिल्म ‘कहो ना प्यार है’बाट आफ्नो करिअरको सुरुवात गरेका अभिनेता ऋतिक रोशनले एकसेएक हिट र सम्झनलायक फिल्म दिइसकेका छन् । ‘कृष’, ‘जोधा अकबर’, ‘सुपर ३०’, ‘काबिल’, ‘धूम’, ‘वार’, ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्ता फिल्मबाट आफूलाई अभिनयसँगै नृत्य र एक्सनमा पनि अब्बल प्रमाणित गरेका उनी बलिउडका महंगा अभिनेतामध्येमा पर्छन् । 
 
कोरोना महामारीअघि फिल्म ‘वार’मा देखिएका उनको यतिबेला चारवटा फिल्म पाइपलाइनमा छन् । ती चार फिल्मको बजेट मात्र ८ सय ७५ करोडभन्दा माथि रहने भारतीय मिडियाले उल्लेख गरेका छन् । हालै उनले फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेकको छायांकन सकाएका छन् । यो फिल्म १ सय ७५ करोडमा बनेको बताइएको छ । फिल्ममा सैफ अली खानको पनि अभिनय छ ।
 
ऋतिकको पाइपलाइनमा रहेको अर्को फिल्म हो, ‘फाइटर’ । यसमा उनी पहिलो पटक अभिनेत्री दीपिका पादुकोणसँग देखिँदैछन् । यसकारण यो फिल्म निर्माण हुनुभन्दा अगावैदेखि प्रतिक्षीत बनेको छ । सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने फिल्मलाई भारतको पहिलो एरियल एक्सन फिल्म बताइएको छ । सुटिङको तयारीमा रहेको फिल्मको बजेट २ सय ५० करोड अनुमान गरिएको छ । 
 
त्यस्तै, तेस्रो फिल्म ‘वार २’ मा पनि ऋतिकले काम गर्दैछन् । सन् २०१९ मा आएको हिट फिल्म ‘वार’मा ऋतिक र टाइगर श्राफ एकसाथ देखिएका थिए । यसको सिक्वेलमा बजेट भने २ सय करोड आँकलन गरिएको छ । ऋतिक घरको फिल्म ‘कृष ४’मा पनि अभिनय गर्ने तयारीमा छन् । भिएफएक्सको अत्याधिक प्रयोग हुने फिल्मको बजेट २ सय ५० करोडभन्दा माथि हुने बताइएको छ ।