Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

द्वन्द्वकालको कथा हामीले नभने कसले भन्ने ? : खगेन्द्र लामिछाने

फिल्मीखबर, काठमाडौं, 2022/07/13
नेपाली समाजले भोगेको एउटा कहालीलाग्दो कालखण्ड हो, माओवादी-सशस्त्र जनयुद्ध । जुन उद्देश्यका लागि जनयुद्ध भएको थियो, त्यसको प्राप्ति भयो वा भएन त्यो बहसको विषय रहला । तर, दश वर्षे जनयुद्धले छाडेका गहिरा घाउहरु अझै आला छन् । जनयुद्धमा मृत्यवरण गरेका वा बेपत्ता भएका परिवारले भोगिरहेको दुःख र पीडा जनयुद्धकालको समयभन्दा कम दर्दनाक छैनन् ।
 
नेपाली फिल्मले बेला बखतमा जनयुद्धको कथालाई प्रस्तुत गर्दै आएको छ । कोरोना महामारीपछि त जनयुद्धकै कथामाथि बनेका फिल्महरु लगातार आइरहेका छन् । यसै हप्ता प्रदर्शन भएको अनुप बराल निर्देशित फिल्म ‘दोख’ द्वन्द्वकालकै कथामा आधारित थियो । आगामी साउन १३ गते द्वन्द्वकालको पृष्ठभूमिमा निर्माण भएको अर्को फिल्म ‘पानीफोटो’ प्रदर्शनमा आउने तयारीमा छ ।
 
Khagendra Lamichhane
 
फिल्मलाई कलाकार खगेन्द्र लामिछानेले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशित फिल्म हो । ‘पानीफोटो’ नाममा करीब डेढ दशक अगाडि गुरुकुलमा नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले फिल्म बनाएका छन् । फिल्मले द्वन्द्वकालमा अपहरणमा परेर बेपत्ता भएको छोराको खोजीमा रहेका आमा-बुबाको कथा भन्छ । मंगलवार फिल्मको ट्रेलर सार्वजनिक गरियो ।
 
ट्रेलर सार्वजनिक कार्यक्रममा खगेन्द्रले अरु कथा नपाएर द्वन्द्वकालको कथामा फिल्म नबनाएको स्पष्टिकरण दिए । उनले भने- ‘द्वन्द्वकालकै कथा भन्नु अरु कथा नभएर होइन । एउटा कालखण्डमा जनयुद्धले हामीलाई, देश र हाम्रो समाजलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा असर पारेको छ । जनयुद्धले हजारौं कथाहरु जन्माएर गएको छ । अनि, हाम्रो त्यो कथाहरुलाई हामीले नभने कसले भन्ने ?’ 
 
द्वन्द्व देश र समाजका लागि ठीक होइन भन्ने झकझकाउनका लागि पनि द्वन्द्वको कथा भन्नुपर्ने खगेन्द्रको तर्क छ । उनी अगाडि भन्छन्, ‘जनयुद्धको समयमा हजारौं मानिसको मृत्यु भयो, हजारौं बेपत्ता भए । यो कुराले अहिले पनि हामीलाई नरमाइलो लाग्छ । हो, यस्तो कथाहरुले त्यो चिजलाई सम्झाइरहनु पर्छ । ताकि, युद्ध भनेको ठीक होइन र त्यसमा जानु हुँदैन भनेर झकझकाओस् ।’ 
 
‘पानीफोटो’मा खगेन्द्रले आफ्नो गुरु अनुप बराललाई निर्देशन गरेका छन् । गुरुलाई निर्देशन गर्दाको अनुभव साट्दै उनी भन्छन्, ‘छायांकनमा अनुप दाईले कहिल्यै ‘म तेरो गुरु हो’ भन्ने भावना देखाउनुभएन । त्यसैले काम गर्ने क्रममा कुनै समस्या भएन । अरु बेला हामीबीच गुरु-चेलाको सम्बन्ध भएपनि सेटमा म निर्देशक र दाई कलाकार हो । हामीले त्यो अनुशासनमा बसेर काम गर्‍यौं ।’