
भर्सटायल कलाकारको रुपमा आफूलाई चिनाएका खगेन्द्र लामिछाने निर्देशित डेब्यू फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार लामिछानेको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा द्वन्द्वकालमा अपहरणमा परेर बेपत्ता भएको छोराको खोजीमा रहेको एक दाम्पतीको कथा देखाइएको छ ।
फिल्मको मूल कथालाई स्पष्ट रुपमा प्रस्ट्याइएको ट्रेलरमा अभिनेता अनुप बराल र अभिनेत्री मेनुका प्रधानको अभिनय मनछुने छ । छोरा खोज्न उनीहरुले खेपेको दुःख, पीडा र हैरानीले भावुक बनाउँछ । संवाद थोरै भएपनि अभिनेत्री मलिका महतको ट्रेलरमा उपस्थिति बलियो छ । त्यस्तै, खगेन्द्र लामिछानेको ‘सरप्राइज’ प्रवेशपछि फिल्मको कथा मोडिने ट्रेलरमार्फत् संकेत गरिएको छ ।
आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको पनि अभिनय छ । यो फिल्मको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।
‘पानीफोटो’मा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मको कथा लेखन खगेन्द्र स्वयंको हो । डेढ दशक अगाडि गुरुकुलमा ‘पानीफोटो’ नाटक मञ्चन भएको थियो । त्यसैलाई खगेन्द्रले फिल्मको स्वरुपमा ढालेका हुन् ।

